राष्‍ट्रिय टिम तयारी योजनावारे छलफल

काठमाडौं, (खेलाडी)- अन्तर्राष्‍ट्रिय टेबल टेनिस महासंघको तत्वधान तथा अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा तीन दिवसीय ‘नेपाल टिम प्लानिङ’ कार्यक्रम सुरु भएको छ । 

जोर्डनका अन्तर्राष्‍ट्रिय टेबल टेनिस विज्ञ मोहम्मद अटनले सञ्‍चालन गरेको कार्यक्रममा नेपालका राष्‍ट्रिय प्रशिक्षक, एलिट खेलाडी र संघका पदाधिकारी गरि दुई दर्जनको सहभागिता रहेको राष्‍ट्रिय खेलकुद परिषदले जनाएको छ । 

भर्चुअल माध्यमबाट आयोजना भइरहेको कार्यक्रम गत साता सुरु भएको थियो र बुधबार यसको दोस्रो दिन सञ्‍चालन भएको थियो । अब तेस्रो तथा अन्तिम दिनको कार्यक्रम शुक्रबार हुनेछ । यसमा अन्तर्राष्‍ट्रिय प्रतियोगिताका लागि राष्‍ट्रिय टिमको तयारीका विविध आयामबारे दोहोरो छलफल गरिएको छ । अटनले यसअघि नेपाल आएर अन्य प्रशिक्षणका कार्यक्रम सञ्‍चालन गरिसकेका छन् । 

संघका अध्यक्ष चतुरानन्दराज बैद्यका अनुसार जुन महिनामा महासंघकै सहयोगमा ‘होप’ कार्यक्रम पनि सञ्‍चालनमा आउने भएको छ । त्यसमा नेपालका तर्फबाट चार एलिट क्याडेट खेलाडीले भाग लिन पाउनेछन् । यसमा दुई छात्र र दुई छात्रा खेलाडी हुनेछन् । यो प्रतिभाशाली खेलाडीका लागि आयोजना हुने अन्तर्राष्‍ट्रिय स्तरको कार्यक्रम हो ।