एसियाली टेबल टेनिसलाई खेलाडी छनोट

काठमाडौं, (खेलाडी)- अखिल नेपाल टेबल टेनिस संघले कतारमा हुने २५औं एसियाली टेबल टेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ । 

लैनचौरस्थित राष्‍ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट महिला र पुरुष दुवैतर्फ समान तीन खेलाडी छनोट गरिएको उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । 

पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्‍ठ छनोट भए । वैकल्पिकमा एभिएम टेबल टेनिस क्लबका संयोग कपाली र विलोश श्रेष्‍ठ रहेका छन् ।

महिलामा एपीएफकी सिक्का सुवाल, एभिएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छानिए । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभिएमकी वियंका राई छानिएका छन् ।

छनोटमा पुरुष र महिला दुवैतर्फ समान नौं खेलाडीले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता कतारको दोहामा असोज ६ देखि १२ गतेसम्म हुनेछ ।