दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिप

युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यू-१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको प्रशिक्षक सञ्जय अर्यालले जनाए ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बंगलादेशलाई ३-० तथा माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो । श्रीलंकासँग भने नेपाल ३-१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यका अनुसार युथको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।