विविध खेलकुद प्रतियोगिता

विविध खेलकुद प्रतियोगिताः सिद्धार्थ र सुस्मितालाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । सुनसरीका सिद्धार्थ तामाङ र एससिटीटीएकी सुस्मिता खड्काले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।

यु-१५ सिंगल्सको ब्वाइजमा सिद्धार्थ तथा गर्ल्समा सुस्मिताले स्वर्ण जितेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार भएको ब्वाइज फाइनलमा सिद्धार्थले बिटीटीएका सौरव खड्कालाई ११-६, १६-१४ र ११-८ को सोझो सेटमा पराजित गरे । एभिएमका एरिश शाक्यले जिपीपीएसका आर्यन शाहीलाई ३-२ को सेटमा हराउदै तेश्रो भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा सुस्मिताले नेपाल पुलिसकी शुभश्री श्रेष्ठलाई ११-९, ११-२ र १४-१२ को सोझो सेटमा पराजित गरिन्  । प्रभातकी करिना सुवाल सुनसरीकी सुलेखाकुमार ठाकुरलाई ३-२ को सेटमा हराउदै तेश्रो भइन् ।

यु-१९ ब्वाइज सिंगल्समा एभिएमका सुजन गडाल र केभीपीपीसीका विशाल गोले फाइनलमा प्रवेश गरेका  छन् । सो स्पर्धाको गर्ल्मा एभिएमकी इभाना थापा मगर तथा वियंका राई स्वर्णका लागि भिड्ने छन् । टेबल टेनिस प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।