सहिद स्मारक ए डिभिजन लिग

पुलिसको अहिलेसम्मकै सबैभन्दा ठूलो हार

काठमाडौं । कुनै समय यस्तो पनि थियो, जति बेला पुलिसले लिगमा हार्न बिर्सेको थियो । वर्ष ०६० देखि सहिद स्मारक लिग ए डिभिजन खेल्न थालेको पुलिस एक समय सबैभन्दा बलियो शक्तिका रूपमा रहेको थियो । उसको शक्ति लिगमै मात्र सीमित थिएन्, समग्र घरेलु नेपाली फुटबलमै पुलिसको दबदबा गज्जव थियो ।

तर ती दिन अब इतिहास भए । अचेल पुलिस घरेलु फुटबलको सबैभन्दा कमजोर टिम भएको छ । कम्तीमा लिगमा त पुलिस दयनीय स्थितिमै छ । 

अहिले तत्काल १४ टिम सम्मिलित माथिल्लो डिभिजनमा पुलिस सबैभन्दा पुछारमा छ । लिगका १० खेलपछि उसको पाँच अंक भएको छ र रेलिगेसनको चर्को दबाबबाट गुज्रिरहेको छ ।

यही पुलिसले बुधबार लिगमा अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको हार बेहो¥यो । च्यासलमा भएको खेलमा जावलाखेलले पुलिसलाई अविश्वसनीय रूपमा ६–१ ले हराएको थियो । केही वर्ष अगाडिसम्म कसैले जावलाखेलविरुद्ध पुलिस यति ठूलो अन्तरले पराजित हुन्छ भनेको भए, त्यो कसैले विश्वास गर्ने थिएनन् ।

लिगमा पुलिसले एकै खेलमा चार गोल भन्दा बढी खाएको पनि यो नै पहिलो अवसर हो । यसअघि पुलिस तीन अवसरमा तीन गोलको अन्तरले पराजित भएको छ र यो नै सबैभन्दा खराव प्रदर्शन रहेको थियो । पुलिस वर्ष ०६३ मा ब्वाइज युनियनसँग ३–० र वर्ष ०७५ मा एपीएफसँग ४–१ ले पराजित भएको थियो ।

यसै पल्ट पनि पुलिस संकटासँग ३–० ले पराजित भइसकेको छ । पुलिस कहिले सम्हालिने हो, कसरी सम्हालिने हो, त्यो सम्भवतः पुलिसका खेलाडी र प्रशिक्षकलाई पनि थाहा छैन् । जब समृद्ध इतिहास भएको क्लबको प्रदर्शन यसरी ओरालो लाग्छ, त्यति बेला एक प्रकारको दुःख र पीडा सबैलाई हुन्छ ।