राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता

विविध खेलकुदः जुनियर राष्ट्रिय टेबल टेनिस सुरु

जुनियर टेबल टेनिसको उद्घाटन

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुद अन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् । प्रतियोगितामा यु-१५ तथा यु-१९ तर्फ ब्वाइज/ गर्ल्स सिंगल्स  गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

 प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेखेलाडीले क्रमशः १५, १०, र ८ हजार रुपौयाँ  प्राप्त गर्नेछन् ।  यसैगरी क्वार्टरफाइनल पुग्ने खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबल टेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जानकारी गराए । दुवै उमेर समूहमा समान ३ ब्वाइज/ गर्ल्स गरी १२ खेलाडी छनोट गरिने छ ।

प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले खेल खेली उद्घाटन गरे । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

एकेडेमीले विविध खेलकुद अन्तर्गत घोषणा गरेको १४ प्रतियोगिता मध्ये टेबल टेनिस प्रतियोगिता पहिलो भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।