राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता

राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिताः सुस्मितालाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता अन्तर्गत कलेजतर्फ महिला सिंगल्समा स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११-९, ९-११, ७-११, ११-७ र १३-११ को सेटमा पराजित गरिन् । यो स्पर्धामा प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्धारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई फाइनलमा ३-१ ले हराउदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेश्रो बने । 

सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३-० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरेको छ ।  अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेश्रो बने ।

बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०-१२, ३-११, ११-८, ११-९ र १२-१० ले पन्छ्याउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो भइन् । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११-५, ११-३ र ११-२ को जित दर्ता गरिन् ।