सहिद स्मार ‘ए’ डिभिजन लिग

मैले कसैमाथि अपशब्द बोलेको छैनः प्रशिक्षक केसी

काठमाडौं । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफुले कसैमाथि अपशब्द नबोलेको बताएका छन् ।

सहिद स्मार ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेल पछिको पत्रकार सम्मेलनमा एफसी खुमलटारका सहायक प्रशिक्षम मदन सुब्बाले थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो विदेशी खेलाडी मेसोके ओलोमोउमाथि अपशब्द प्रयोग गरेको आरोप लगाएका थिए ।

प्रशिक्षक केसीले उक्त आरोपको खण्डन गर्दै आफूले कसैमाथि अपशब्द प्रयोग नगरेको बताएका हुन् ।

‘मेरो बक्स नजिकै पिटर सेगुनलाई फउल गरेपछि म कराएको चाँही हुँ । नजिकै सहायक रेफ्री थिए, यदी मैले कुनै अपशब्द बोलेको भए त रेफ्रीले कार्ड देखाउथे होला’, मेघराजले भने,‘टाढाबाट हेर्दा उहाँहरुलाई त्यस्तो लागेको हुन सक्छ । नजिकै रहेका सहायक रेफ्रीले नसुन्नु, तर करिब २० यार्ड टाढा रहेका विपक्षी कप्तानले सुन्नुको  अर्थ कसैले गलत म्यासेज पठाएको पनि हुन सक्छ । मैले कसैमाथि अपशब्द बोलेको छैन ।’

थ्री स्टारले शुक्रबार सम्पन्न खेलमा एफसी खुमटारलाई २-० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो । थ्री स्टारको जितमा दुवै गोल मार्टिन अजाइले गरेका थिए ।