सहिद स्मारक ‘ए’ डिभिजन लिग

चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं । हिमालयन शेर्पा क्लबाई १-० ले पराजित गर्दै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ मा लगातार तेस्रो जित हासिल गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आशिष चौधरीले गरेको एक मात्र गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो। खेलको २० औं मिनेटमा एरिक विष्टको सुन्दर पासको सदुपयोग गर्दै आशिषले उत्कृष्ट गोल गरेका थिए ।

दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

छैटौं मिनेटमा एरिक विष्टको प्रहार हिमलायन शेर्पाका गोलकिपर विवश चौधरीलेले बचाएका थिए । १५ औं मिनेटमा हिमालयन शेर्पाका पिस्टोने डोम्बियाको फ्रि किक चर्च ब्वाइजका गोलकिपर प्रिशो एनजांगाले बचाए ।

३७ औं मिनेटमा सत्यम शर्माको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिँदा हिमालयन शेर्पाले बराबरी गर्ने अवसर गुमाएको थियो ।

६५ औं मिनेटमा आशिष वान भर्सेस वानमा चुक्न पुगे । त्यस्तै ७६ औं मिनेटमा सत्यमको शट चर्च गोलकिपर प्रिसोले बचाएका थिए ।

यस जितसँगै चर्च ब्वाइजले तीन खेलमा नौ अंक जोडेको छ । सिजनको पहिलो हार ब्यहोरेको हिमालयन शेर्पाको भने तीन खेलमा चार अंक छ ।

यसअघि चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ तथा एफसी खुमटारलाई ३–१ ले पराजित गरेको थियो । हिमालयनले  मनाङ मर्स्याङदी क्लबसँग १-१ को बराबरी खेल्दा पुलिसलाई १० ले पराजित गरेको थियो ।