तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

एलएनए, सिद्धाथ, हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए), सिद्धार्थ मोडेल, हिमरश्मी र एन्जल्स हार्ट प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्धारा आयोजित प्रतियोगितामा सोमबार हिमरश्मीले काठमाडौं लिङकनलाई २२-१८ ले पराजित गरेको हो । हिमरश्मीको जितमा सविन लामाले आठ अंक योगदान गरे ।

 रुपेश पौडेलको सात अंकको सहयोगमा एन्जल्स हार्टले जीवन ज्योतिलाई १९-१७ ले हरायो ।

एलएनएले मनमैजुस्थित घरेलु कोर्टमा सिर्जना ज्ञान सागरलाई २०-१६ तथा सिद्धार्थ मोडेलले सेक्रेट हार्टलाई २१-१८ ले पराजित गरे । 

एलएनएका श्रवन गुरुङले आठ तथा सिद्धार्थ मोडलका अमिनले चार स्कोर गरे । सेमिफाइनलमा एन्जल हार्टले सिद्धार्थ तथा हिमरश्मीले एलएनएको सामना गर्नेछन् ।

यसैगरी सिनियर गर्ल्समा एलएनएले नर्थ भ्यालीलाई २८-१८, ल्यान्डमार्कले स्प्रिङ भ्यालीलाई १७-१०, हिमरश्मीले नर्थ प्वाइन्टलाई २०-१९ र न्यू एराले पद्यमचक्रलाई २०-१५ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

एलएनएकी सिमरन महर्जनले १०, ल्यान्डमार्ककी नेहा श्रेष्ठले ६, हिमरश्मीकी सुनिशा मिश्रले चार र न्यू एराकी नर्गिमा तामाङले सात अंक बटुले ।

सेमिफाइनलमा एलएनए र ल्यान्डमार्क तथा हिमरश्मी र न्यू एरा प्रतिस्पर्धा गर्नेछन् ।