बुद्धिचाल

आरसिटी चेसः रुपेश च्याम्पियन

काठमाडौं । फिडे मास्टर रुपेश जैसवाल अन्नपूर्ण  क्लब (आरसिटी ) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।  

रुपेशले शनिबार सम्पन्न भएको आठौं चरणमा फिडे मास्टर क्षितिज भण्डारी र नवौं चरणमा नेपाल च्याम्पियन  पुरुषोत्तम चौलागाईंसँग बराबरी खेलेका थिए । उनी प्रतियोगितामा सात जीत र दुई  बराबरी खेली आठ अंकसहित च्याम्पियन बनेका हुन् ।

रुपेशले उपाधिसहित  ३० हजार रुपैउाँ प्राप्त गरे । यसैगरी नेपाल च्याम्पियन पुरुषोत्तमले सात अंकका साथ दोस्रो स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे । 
चौथो चरणको खेलमा पराजित भएका पुरुषोतम बाँकी खेलमा राम्रो नतिजा आत्मसात गरि सात खेलमा सफलता हात पारे भने अन्तिम चरणमा रुपेशसँग बराबरी खेले। उनले आठौं चरणको खेलमा ललितपुर रका सरोज महर्जनलाई पराजित गरेका थिए ।    

फिडे मास्टर क्षितिज भण्डारीले सात अंक सहित तेस्रो स्थानमा रहेर १० हजार रुपौयाँ प्राप्त गरे । उनले अन्तिम दुई खेल बराबरी खेलेका थिए।

त्यसैगरी काठमाडौका सुमन लामाले चौथो, ललितपुरका सरोज महर्जन र सजिन महर्जनले पाँचौ तथा छैटौं स्थानमा रहि क्रमशः सात, पाँच र चार  हजार रुपैयाँ प्राप्त गरे । 
उकाठमाडौँ सुदिप तामाङ ,पुर्व नेपाल च्याम्पियन  सुरवीर लामा, तेह्रथुमका हरी सुब्बा ,र दोलखाका राजिव कार्की उत्कृष्ट दश भित्र अटाउन सफल भए ।

यस्तै महिलातर्फ काठमाडौकी विनिता कपाली पहिलो र सिन्दीरा जोशी दोस्रो स्थानमा रहे। दुवैको समान ६ अंक नै भए पनि प्रोग्रेसिभ टाई ब्रेकको आधारमा विनिताले सिन्दिरालाई पछि पारेका हुन। झापाकी पुनम प्रसाईं तेस्रो स्थानमा रहिन।

यसैगरी भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल,काठमाडौका जनार्दन श्रेष्ठ र पुण्यमान कर्माचार्य पहिलो, दोस्रो र तेस्रो भए भने यु १६ र सुप्रभ सागर श्रेष्ठ  १४ तर्फ पुरुषोत्तम सिलवाल र  उत्कृष्ट ठहरिए। छात्रतर्फ तिलिङटार माविका पूर्णिमा गुरुङ प्रथम स्थानमा रहिन्।
समापन समारोह प्रदेशसभा सांसद हरीप्रभा श्रेष्ठ खड्गीले बिजेता खेलाडीहरुलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरे।

चार दिने प्रतियोगितामा ४० जिल्लाका एक सय ३८ जना खेलाडीको सहभागिता  थियो।