अस्ट्रेलियन ओपन

जोकोभिच चौथो चरणमा, मरे बाहिरिए

काठमाडौं । सर्वियन स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

जोकोभिचले तेस्रो चरण अन्तर्गत शनिबार सम्पन्न खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई ३-० को सोझो सोटमा पराजित गरेका हुन् ।

जोकोभिचले मेलर्बनस्थित रोड लेभर एरिनामा खेल ७-६(९-७), ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेका हुन् ।

जोकोभिच फ्रान्सका इन्जो कौकाउडलाई ६-१, ७-६(७-५) ,२-६  र  ६-० तथा दिमित्रोभ सर्भियाका लास्लो डिरीलाई ६-३, ६-२ र ६-० ले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका थिए ।

जोकोभिचले चौथो चरणमा घरेलु खेलाडी एलेक्स डि मिनाउरको सामना गर्नेछन् । मिनाउर फ्रान्सका  बेन्जामिन बोन्जीलाई ७-६( ७-०), ६-२ र ६-१ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका हुन् ।

बेलायती टेनिस स्टार एन्डी  मरे भने तेस्रो चरणबाटै बाहिरिएका छन् ।

मरे शनिबार सम्पन्न खेलमा स्पेनका  रोबर्टो एगुटसँग ३- १ को सेटमा पराजित भए । मेलबर्नस्थित मार्ग्रेट कोर्ट एरिनामा मरेले खेल १-६, ७-६(९-७), ३-६ र ४-६ ले गुमाएका हुन् ।