व्यायामशाला खुलाउन व्यावसायीको आग्रह

काठमाडौं, (खेलाडी)- काठमाडौं व्यायाम व्यावसायी संघले कोभिड १९ को महामारीबीच जनस्वास्थ्यको लागि सबैखाले स्वास्थ्य मापदण्ड लागु गरेर व्यायामशालाहरु सञ्‍चालन गर्न पाउनुपर्ने माग राखेको छ ।

संघले मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय निशेधाज्ञा खुकुलो पार्दै लगिएको अवस्थामा व्यायामशाला पनि सञ्‍चालनको अनुमति दिन अनुरोध गरेका छन् ।

‘पछिल्लो समय निशेधाज्ञा खुकुलो गरिँदा सम्पूर्ण बजार पसलका साथै निजी, सार्वजनिक तथा लामो दुरीका सवारी साधन समेत सञ्‍चालन भइसकेको छ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल उपचार गर्ने स्थान भएजस्तै जिम तथा हेल्थ क्लबहरु पनि रोग लाग्‍न नदिन र रोग नियन्त्रण गर्ने प्रमूख थलो भएकोले यस व्यावसायलाई डान्सबार, रात्रीकालिन व्यावसाय, रेष्टुरेन्ट वा मनोरञ्‍जन स्थलसँग एउटै वर्गमा राख्‍न मिल्दैन । राष्‍ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्‍ने नारा सार्थक बनाउन मद्दत गर्न हामीले जिल्ला प्रशासन कार्यालयसमक्ष अनुरोध गरेका छौं ।’

‘गत वर्षको पहिलो लहरको महामारीका कारण भएको लकडाउनमा करिव १० महिना पूर्ण रुपले बन्द रहेको व्यायामसाला हालै मात्र सञ्‍चालनमा आएको सर्वविधितै छ । तर विस्तारै उठन खोज्दै गरेको जिम व्यावसाय पुन: देखा परेको दोस्रो लहरको महामारीको कारण पूर्ण रुपमा थलिएको अवस्थामा आइपुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो महामारीको छिट्टै अन्त्य नहुने अवस्थामा रोगलाई हराउन व्यायाम गर्न विज्ञहरुले जोड दिँदै आइरहेका छन् । विभिन्‍न रोगका विरामीहरुले व्यायाम अपरिहार्य गर्नुपर्छ । त्यसका लागि हाल बन्द रहेको व्यायामशाला यथासिघ्र खोल्न जरुरी छ ।’

संघका अनुसार काठमाडौं जिल्लामा करिव २ सय ५० वटा व्यायामशालाहरु छन् ।