एकदिवसीय शृंखलामा भारत विजयी

कोलम्बो, (खेलाडी)- श्रीलंका भ्रमणमा विजयी यात्रालाई निरन्तरता दिने क्रममा भारतले मंगलबार दोस्रो एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलमा तीन विकेटको जित हासिल गरेको छ । 

दुई दिनअघि भएको पहिलो खेलमा सात विकेटको जित हासिल गरेको भारतले यो जितसँगै तीन खेलको शृंखला २-० ले जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ । 

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २ सय ७५ रन बनाएको थियो । भारतले निर्धारित ५० ओभरको पाँच बल बाँकी रहँदै सात विकेटको क्षतिमा २ सय ७७ रन बनाएर जित हासिल गरेको थियो । 

श्रीलंकाको इनिङमा चारिथ एसालंकाले सर्वाधिक ६५ रन बनाए भने ओपनर अभिस्का फर्नान्डोले ५० रन बनाए । यसैगरी चामिका करुणारत्‍नेले अविजित ४४ रन बनाउँदा मिनोद भानुकाले ३६, धनन्जय डी सिल्भाले ३२ र कप्तान डासुन शानाकाले १६ रन जोडे । 

भारतका लागि भुवनेश्‍वर कुमार र युजभेन्द्र चहलले तीन/तीन विकेट लिए भने म्यान अफ दी म्याच दीपक चहरले दुई विकेट लिए । 

भारतको लक्ष्य प्राप्तीको अभियानमा म्यान अफ दी म्याच चहरले अविजित ६९ रन बनाए । चहरले ८२ बलमा एक छक्का र सात चौका प्रहार गरे । भारतका लागि सूर्यकुमार यादवले पनि अर्धसतकीय इनिङ खेले । 

शीर्ष पंक्तिले खासै उल्लेख्य प्रदर्शन गर्न नसकेको दिन मध्य पंक्तिबाट इनिङ उकास्‍ने प्रयासस्वरुप सूर्यकुमारले ४४ बलमा ६ चौकासहित ५३ रन बनाए । 

मनिष पाण्डेले ३७ रन बनाउँदा क्रुनाल पाण्ड्याले ३५, कप्तान शिखर धवनले २९, भुवनेश्‍वर कुमारले अविजित १९ तथा पृथ्वी शाँले १३ रनको योगदान गरे । 

श्रीलंकाका वानिन्दु हसरंगाले तीन विकेट लिए भने कासुन राजिथा, लक्सन सान्डाकन र डुसान सनाकाले एक/एक विकेट लिए । 

शुक्रबार अन्तिम खेलसँगै एकदिवसीय शृंखला सकिएपछि दुई टोलीबीच तीन खेलको ट्‍वान्टी २० शृंखला सुरु हुनेछ । ट्‍वान्टी २० शृंखलाको पहिलो खेल जुलाई २५ मा हुनेछ भने दोस्रो खेल २७ तथा तेस्रो खेल २९ तारिखमा हुुनेछ ।