सन्तोषी श्रेष्ठ

बुढानीलकण्ठ खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा सन्तोषी

काठमाडौं । प्रथम बुढानीकलण्ठ नगर सिल्ड खेलकुद महोत्सवको धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा चयन भएकी छन् । महोत्सव बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डको आयोजनामा हुँदैछ ।

आयोजक बोर्डका संयोजक सुमन तामाङले सन्तोषीलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन् ।

संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा लागेको बताउदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले बुढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संयोजक तामाङले सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राखी ७ दिनका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिने बताउदै स्थानिय र बसाइसराइ गरेका खेलाडीले प्रतियोगितामा सहभागिताको अवसर पाउने बताए ।

सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव खेलाडीका लागि आफ्नौ कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन् ।

पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले खेलकुद महोत्सवको टिसर्ट सार्वजनिक गरेका थिए । त्यसै अवसरमा खेलकुद महोत्सवको लोगो र प्रोमो पनि सार्वजनिक गरिएको थियो ।

मेयर अधिकारीले खेलकुदलाई प्राथमिकतामा राखीमा नगरपालिकाले प्रशासन र शिक्षापछि खेलकुदमा बजेट विनियोजन गरेको बताउदै खेलकुदको माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने अभियानमा सबै जुट्नु पर्नेमा जोड दिए ।

बैशाख १५ देखि १९ सम्म हुने महोत्सवमा आठ खेल समावेश गरिएको छ । कराते, तेक्वान्दो, मुवाँथाइ, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी रेस्लिङ र केही परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ ।