सहिद स्मारक ‘सी’ डिभिजन लिग

मनोहराको रोमाञ्चक जित

तस्विरः एन्फा

काठमाडौं । मनोहरा युनाइटेड युथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा मनोहरालाई जित दिलाउन आविष्कार खड्का र उत्तम शाहीले गोल गरे । गोलबजारका लागि विश्वास राईले गोल फर्काए ।

लगातार दोस्रो जितसँगै मनोहराले तीन खेलमा ६ अंक जोडेको छ । पराजित गोलबजारको समान खेलबाट एक अंक छ ।

तस्विरः एन्फा

खेलको १८औं मिनेटमा आविष्कारको पेनाल्टी गोलमार्फत मनोहराले अग्रता लिएको थियो । ५०औं मिनेटमा उत्तमले टोलीको अग्रता दोब्बर बनाए ।

विश्वासले ६०औं मिनेटमा गोल गर्दै गोलबजारलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

यसअघि समाज कल्याण खेलकुद केन्द्रसँग ५-० ले पराजित मनोहराले स्पोर्टस एकेडेमी साँगालाई ३-२ ले हराएको थियो ।

यता गोलबजार पहिलो जितको खेजीमा छ । यसअघि स्वयम्भु क्लबलाई २-२ को बराबरीमा रोकेको गोल बजारले झम्सिखेल युथ क्लबसँग ४-० को हार ब्यहोरेको थियो ।