एनएनआइपिए स्पोर्टस अवार्ड

एनएनआइपिए स्पोर्टस अवार्ड चैत १२ गते

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा एनएनआइपिए स्पोर्टस अवार्ड आगामी चौत १२ गते हुने भएको छ ।

अवार्डमा कार्यक्रममा गत वर्ष आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ ।

विगतका केही वर्षदेखि काठमान्डौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृितिक सहरहरुमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुने आयोजकले बताएकाे छ ।

‘हामीले दुई/ तीन ठाउँमा कुरा गरिरहेका छौं । स्थान निश्चित भइसकेको छैन । तर अवार्ड कार्यक्रम ललितपुरमै हुनेछ,’ एनएनआइपिएका सचिव मण्डेकाजी श्रेष्ठले भने । 

अवार्ड कार्यक्रममा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष/ महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष/ महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना पाका खेल ब्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले १ लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी खेल पत्रकार र खेल ब्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्डो, ह्यान्डबल,जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, पौडी, स्क्वास, उसु,भारोत्तोलन, ट्राथोलन र क्रिकेटबाट समान एक खेलाडी सम्मानित हुनेछन् ।

यसैगरी स्टिङ, आइटिएफ तेक्वान्डो,फूल कन्ट्याक्ट कराते, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, आर्चरी, कबड्डी, खो-खो, टेबल टेनिस, कराते, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल र सेपाकताक्रका समान एक खेलाडीलाई पनि सम्मान गरिनेछ । 

आयोजक संस्थाका महासचिव शिवसुन्दर गोथेले कार्यक्रम आयोजनका लागि २० देखि २२ लाख खर्च हुने अनुमान गरिएको र त्यसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले केही सहयोग गर्ने  बताए ।

‘हामीले कार्यक्रम सञ्चालनका लागि २० देखि २२ लाख सम्म खर्च हुने अनुमान गरेका छौं । यसमा राखेपले केही सहयोग गर्ने प्रतिवद्धता जनाएको छ,’ महासचिव गोथेले भने ।