१९ औं एसियाली खेलकुद

नेपाललाई कबड्डीमा कम्तीमा पनि कांस्य पदक

काठमाडौं । नेपालले चीनमा जारी १९औं एसियाली खेलकुदकाे महिला कबड्डीमा कम्तीमा पनि  कांस्य पदक पक्का गरेकाे  छ ।

बुधबार महिला कबड्डीको समूह ‘बी’ मा इरानले बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालले कम्तीमा पनि कांस्य जित्ने पक्का भएकाे हो ।

पहिलो हाफमा इरान २८–५ ले अगाडि थियो । यस समूहमा लिग चरणका सबै खेल सम्पन्न भएका छन् । लगातार दुई खेल जितेको इरान र एक खेल जितेको नेपाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इरानले नेपाल र बंगलादेशलाई हराएको थियो । बंगलादेश दुबै टोलीसँग पराजित हुँदै पदक विहिन रह्यो । नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्नेले कांस्य पदक पाउनेछ । 

अर्काे समूहको खेलपछि नेपालले सेमिफाइनल प्रतिद्वन्दी पक्का गर्नेछ । सेमिफाइनलमा जित निकाले नेपाल स्वर्ण पदककाे लागि खेल्नेछ । 

जारी १९ औं एसियाली खेलकुदमा नेपालले २९ खेल सहभागिता गराउँदा  हालसम्म  कबड्डीमा  मात्र  पदक पक्का भएको छ । कबड्डीको लागि यो ऐतिहासिक उपलब्धी हो । एसियाली खेलकुदकाे डेब्युमै पदक पक्का गरेकाे छ । 

यसअघि पदक आशा गरिएको तेक्वान्दो, बक्सिङ, फुटबल, भलिबल, उसु पदक विहिन भएका थिए । अब, नेपालले कराते लगायत खेल खेल्न बाँकी छ ।

एसियाडमा २९ खेलबाट दुई सय ५३ खेलाडी सहभागी छन् ।