फुटसल प्रतियोगिता

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।सिनामंगलको अर्किड कलेजको फुटसल कोर्टमा जारी प्रतियोगिता अन्तर्गत आइतबारका खेलबाट तीन टिमले सेमिफाइनलमा स्थान पक्का गर्दा शुक्रबारको खेलबाट एक टिमले स्थान बनाएको थियो ।

आइतबारको  खेलबाट एक्मी इन्जिनियरिङ कलेजको ‘ए’, काष्टमण्डप कलेज अफ म्यानेजमेन्ट, कान्तिपुर युनाइटेड ‘ए’ ले स्थान बनाउँदा शुक्रबार कलेज अफ बायो मेडिकल इन्जिनियरिङ एप्लाइड साइन्सेज कलेजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आइतबारको पहिलो खेलमा एक्मी ‘ए’ ले हिमालयन ह्वाइटहाउस ‘ए’ लाई ३-२ ले पराजित गरेको थियो । एक्मीका लागि नयस गिरी, रोजन बेघा र लकिन महर्जनले एक एक गोल गर्दा हिमालयन ह्वाइटहाउसका लागि उकेस सुवाल र सुगत अर्यालले एक एक गोल गरेका थिए ।

यसैगरी दोस्रो खेलमा काष्टमण्डप कलेजले कर्णाली कलेजलाई ११-० को फराकिलो अन्तरले हरायो । काष्टमण्डपका लागि विकास महर्जनले  पाँच, सुजन थापाले तीन तथा रोजन लिम्बु, कृष्ण दुलाल र निश्चल खत्रीले समान एक गोल गरे ।  

दिनको तेस्रो तथा खेलमा कान्तिपुर कलेजको म्यानेजमेन्ट टोलीले इन्जिनियरिङ टोलीलाई ४-२ ले पराजित गरेको थियो । म्यानेजमेन्टका लागि करण प्रजापति र विकास तामाङले समान गोल गर्दा इन्जिनियरिङका तर्फबाट अजय तामाङ र कुशल महर्जनले समान एक गोल गरे ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरु सहभागी यस प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।