मार्सल आर्ट्स

पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित

सम्मानित पदक विजेता

काठमाडौं । जर्मनीमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फर्किएको  छ ।

 गत अगस्ट ४ देखि २४ सम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीहरुले पदक जित्न सफल भएका थिए ।

कीर्तिपुर नगरपालिका र जर्मनीको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टोली जर्मनी गएको थियो । प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतिक श्रेष्ठले कास्य पदक जितेको प्रशिक्षक राजिव महर्जनले जानकारी दिए ।

पदक विजेता खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले सम्मान गरेको छ । टोली व्यवस्थापकको भूमिकामा रजनी डंगोल थिइन् ।

सम्मान कार्यक्रममा कीर्तिपुर खेलकुद बिकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका संचालक सुदिप महर्जनले बताए ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई बधाई ज्ञापन गरिन् । उपमेयर शाक्यले खेलाडीहरुलाई अझ प्रगति गरि देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजयप्रकाश महर्जन लगायतको उपस्थिति  थियो ।