मदन भण्डारी स्पोर्टस एकेडेमी

मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुद प्रतियोगिता गर्दै

विविध खेलकुद बारे जानकारी गराउदै आयोजक

काठमाडौं । मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न१४ खेललाई समेटेर विविध खेलकुद प्रतियोगिता आयोजना भएको छ ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले सोमबार पत्रकार सम्मेलनमा पहिलो संस्करणमा सात खेलको प्रतियोगिता आयोजना गरिएकोमा यसपटक १४ खेलको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए ।

विविध खेलकुद अन्तर्गत मंगलबारदेखि राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यु-१५/ यु-१९ ब्वाइज/ गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । 

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५, १० र आठ हजार रुपैयाँ  प्राप्त गर्ने छन् । क्वार्टरफाइनल पुग्ने खेलाडीलाई तीन हजार रुपैयाँ प्रदान गरिने छ ।

सातै प्रदेशमा बैशाख २७ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुनेछ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् ।

पोखरामा जेठ २३ गतेदेखि केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता हुनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहने पूर्व क्रिकेटर शक्ति गौचनले जानकारी गराए । त्यसमा भारतको एक टोली हुने बताइएको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

बैशाख २८ गतेदेखि सातै प्रदेशमा मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५०, २५  र १० हजार रुपैयाँ पाउने छन् ।

जेठ ४ गतेदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा खुला पुरुष तथा महिला बास्केटबल हुनेछ । जसमा पहिलो हुनेले एक लाख ५० हजार तथा दोश्रोले एक लाख नगद रुपैयाँ  प्राप्त गर्ने छन् ।

झापाको विर्तामोडमा बैशाख २० गतेदेखि राष्ट्रव्यापी कराते प्रतियोगिता हुने तालिका छ । विभिन्न १५ स्पर्धा समावेश प्रतियोगितामा एक इभेन्टका पदक विजेतालाई जम्मा २५ हजार रुपैयाँ प्रदान गरिने छ । 


भक्तपुरमा बैशाख १९ गतेदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुनेछ । यो खेलमा पनि नगद पुरस्कार राखिएको छ । बामती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बैशाख २५ देखि काठमाडौंमा हुँनेछ । यसमा प्रथम हुनेले ३०, दोश्रोले २०  र तेश्रोले १० हजार रुपैयाँ जित्ने छन् ।

खुला मधेश प्रदेश डोरी तान प्रतियोगिता असार २२ गते सप्तरीमा हुनेछ । जसमा पहिलो हुनेले ५०, दोश्रोले २५ र तेश्रोले १० हजार रुपैयाँ पार्ने छन् ।  रेस्लिङ जेठ ३१ गते सुर्खेतमा हुनेछ । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी चार लाख रुपैयाँ छ ।

बैशाख २५ गतेदेखि भक्तपुरमा खुला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक लाख, ५० र २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । भेट्रानतर्फ पहिलो हुनेले ५० , दोश्रोले ३० र तेश्रोले २० हजार रुपैयाँ हात पार्ने छन् ।

बुटवलमा असार २ गतेदेखि राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुनेछ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २०, १० र सात हजार रुपौयाँ पाउने छन् । बुटवलमै विद्यालयलाई लक्षित गरी आत्मरक्षा तालिम जेठ ३ देखि ५ गतेसम्म हुनेछ ।

सातै प्रदेशमा असार १ गतेदेखि मदन भण्डारी अन्तरमावि प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनेछ । जसमा पहिलो हुनेले एक लाख तथा दोश्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिता बाहेक काठमाडौंमा जेठ ३ गते खेलकुद विकास अन्तरक्रिया सञ्चालन गरिने छ । कार्यक्रम सम्पन्न करिब सात करोड २८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।