पल्सर स्पोर्ट्स अवार्ड

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार हुने पल्सर स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा भएको जनाएको छ ।

मञ्चको आयोजनामा हुँदै आएको यस वर्षको अवार्ड पनि कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा एक भव्य समारोहबीच सञ्चालन हुनेछ । मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए ।

 ‘हामीले यो अवार्डको लागि एक महिनाभन्दा अगाडिदेखि तयारी गरिरहेका छौं । त्यसैले एकदिन अगाडि समारोहका काम मात्र बाँकी थिए ।आयोजना स्थललगायत केही काम पनि सोमबार नै सम्पन्न भएपछि हाम्रो तयारी पूरा भएको छ,’कार्यवहाक अध्यक्ष अधिकारीले भने ।

१९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न नौ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गरिने छ । यस पटक अवार्डमा नयाँ प्रस्तुती थपिएकाले विशेष बन्ने मञ्चका कार्यवहाक अध्यक्ष अधिकारीको विश्वास छ ।

‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड सोहरू कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सरस्पोर्ट्स   अवार्डमा पनि रेड कार्पेटको थालनी गर्दैछौं । अवार्डको मुख्य समोराहको एक घन्टा अगाडिदेखि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रशारण हुनेछ,’अधिकारीले भने, ‘त्यसबाहेक यस पटकदेखी अन्य विशेष प्रस्तुत पनि सुरु गरिएको छ ।’

 मञ्चले खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दै छ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिने छ ।

अन्य पाँच विधामा ५÷५ खेलाडी मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । जसअन्तर्गत पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाशा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन् । ई-सेवाको भोटिङ, फेसबुक लाइक, प्रमुख प्रशिक्षक र मञ्चका सदस्यको मतमा पिपल्स अवार्डको विजेता तय हुने छ ।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन् । वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन् ।

वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

 अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई-सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री छन् ।

यसैगरी सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।