नेपाली फुटबल

नेपाल आइपुगे अल्मुताइरी

फाइल तस्बिर

 काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वमुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् ।

अल्मुताइरी सोमबार नेपाल आइपुगेका हुन् ।  मंगलबार हुने अवार्डमा अल्मुताइरीसँगै वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा क्रिकेटका डेभ ह्वाटमोर, बक्सिङका दिपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी र भलिबलका जगदिश भट्ट परेका छन्  ।

नेपालले अल्मुतारीको प्रशिक्षणमा गत वर्ष माल्दिभ्समा सम्पन्न साफ च्याम्पिसिपको फाइनलसम्मको यात्रा तय गरेको थियो । नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको त्यो नै पहिलो पटक थियो ।

अल्मुताइरीकै प्रशिक्षणमा नेपालले गत वर्ष नै पहिलो पटक एएफसी एसियन कप २०२३ को तेस्रो चरणसम्मको यात्रा तय गर्न सफल भएको थियो । उनकै प्रशिक्षणमा नेपालले गत वर्ष घरेलु मैदानमा अफ्रिकी राष्ट्र मोरिससलाई दुई मैत्रीपूर्ण खेलमा हराएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वले उनलाई पदबाट हट्न बाध्य बनाएको थियो । नेम्वाङ पछिल्लो कार्यकालमा नेम्वाङ एन्फा वरिष्ठ उपाध्यक्ष रहँदा अल्मुताइरीले आफूलाई नियतवश पदबाट हटाउन खोजेको भन्दै सामाजिक संजालमा पोस्ट गरेपछि यी दुईबीचको विवाद सहतमा आएको थियो ।

आफू अध्यक्षमा निर्वाचित भएलगत्तै अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउने तयारी गरेका नेम्वाङले उनी बिदामा रहँदा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदिप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । नेम्वाङको सो कदमपछि अल्मुताइरीले पदबाट राजिनामा दिन बाध्य भएका थिए ।

नेम्वाङ नेतृत्वले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा भने प्रवेश कटुवाललाई कार्यवहाक मुुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

गत साता मात्र तीन उपाध्यक्षसहित ११ केन्द्रिय सदस्यले बहिस्कार गरेको कार्यसमिती बैठकमा नेम्वाङ पक्षले बहुमत पुगेको दाबीसहित राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकमा इटालीका भिसेन्जो अल्बर्टो एनासीलाई नियुक्त गरेको थियो ।

एनासीको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा चैत ६ गतेबाट हुने प्रधानमन्त्री कप त्रिदेशीय कप खेल्नेछ । जहाँ भुटान र लाओसले नेपालको भ्रमण गर्नेछन्  ।