आइसिसी लिग टु

नेपालले युएईलाई हरायो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा भएको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा  नेपालले घरेलु टोलीमाथि ४२ रनको जित निकालेको छ ।

यो जितसँगै ३२ खेलमा ३२ अंक जोडेको नेपाल पाँचौँ स्थानमा उक्लिँदा पारजय ब्यहोरेको युएई समान खेलबाट ३१ अंकका साथ छैटौं स्थानमा झरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको दुई सय ३० रनको लक्ष्य पछ्याएको युएई ४५ ओभरमा एकस सय ८७ रनम समेटियो ।

युएईका लागि आसिफ खानले एक सय १५ बलमा तीन छक्का र दुई चौका मद्दतले सर्वाधिक ८२ रन जोडे । यसैगरी आर्यन लाक्राले  ७८ बलमा चार चौका र एक छक्काको मदद्तले ५० र वृत्य अरविन्दलले १३ रन जोडे ।

दोस्रो विकेटका लागि खान र लाक्राले ९६ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान तीन तथा करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले समान एक विकेट लिए ।  

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय २९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि भिम सार्कीले ९९ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ७० रन जोडे । यसैगरी आरिफ शेखले अविजित ४३, कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७, ज्ञानेन्द्र मल्लले ११ र प्रतिश जिसीले अविजित ११ रन बनाए  ।

भिमले सातौं विकेटका लागि आरिफ तथा छैटौं विकेटका लागि सन्दीपसँग समान ५६ रनको साझेदारी गरेका थिए ।

युएईका लागि जुनैद सिद्धिकीले तीन, रोहन मुस्ताफा र आर्यन लाक्राले समान दुई तथा कार्तिक मैयप्पनले एक विकेट लिए ।

नेपाल युएईसँगको पहिलो खेलमा भने ६८ रनले पराजित भएको थियो । नेपालविरुद्धको पछिल्ला भेटमा जित निकालेको युएईले पपुवा न्युगिनीविरुद्ध एक सय ३१ रन तथा पाँच विकेटको हार ब्यहोरेको थियो ।

नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई चार र तीन विकेटले पराजित गरेको थियो ।

अब नेपालले लिग टुको अन्तिम शृखलाका लागि युएई र पिएनजीलाई नै बिहीबारबाट घरेलु मैदानमा आतिथ्य गर्नेछ ।

नेपालले फागुन २५ र २९ मा पिएनजी तथा फागुन २८ र चैत दुईमा युएईसँग खेल्नेछ । यसैगरी पिएनजी र युएईले फागुन २६ र चैत एकमा प्रतिस्पर्धा गर्नेछन् ।

लिग टुका सबै खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थान तथा ४४ अंकसहित दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । तेस्रो स्थानको टोलीले पनि विश्वकप छनोट खेल्ने भएकाले त्यसका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबियाको ३९, पाँचौ स्थानको अमेरिकाको ३५ अंक छ । पिएनजी ३२ खेलमा नौ अंक जोडेर सातौं स्थानमा छ । नामिबिया र अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेका छन् । पिएनजीले, नेपाल र युएईले समान चार खेल खेल्न बाँकी छ ।