मुवाँथाई

कार्कीलाई राष्ट्रिय मुवाँथाई संघको सम्मान

काठमाडौं । राष्ट्रिय मुवाँथाई संघ नेपालले बिहीबार आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे ।

 ‘सम्मान गर्नु भएकोमा धन्यवाद । तपाई (खेलाडी) हरु लगनशील भएर प्रशिक्षण गर्नुस । सफलता अवश्य मिल्ने छ । पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउनका लागि पनि खेल महत्वपूर्ण पाटो हो,' सम्मानपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक समेत रहेका कार्कीले भने ।

अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान गरेको बताए ।