फ्रेन्च लिग वान

सान्चेज पिएसजीमा

पेरिस । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले लिलेका मिडफिल्डर रेनाटो सान्चेजलाई अनुबन्धन गरेको छ ।

पिएसजीले सान्चेजलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो । उनको अनुबन्धमा पिएसजीले कति रकम खर्चियो भन्ने बारे केही बताइएको छैन ।

सान्चेजको अनुबन्धमा इटालियन सिरी ‘ए’ को क्लब एसी मिलान पनि इच्छुक देखिएको थियो । सन् २०२०-२१ सिजन क्रिस्टोफ ग्याल्टियरको प्रशिक्षणमा लिलेले लिग वानको उपाधि जित्दा सान्चेज टोली सदस्य थिए ।

 ग्याल्टियर यसै सिजन पिएसजीको प्रशिक्षकमा नियुक्त भएका थिए । उनी सन् २०१९ मा बायर्न म्युनिखबाट लिले गएका थिए ।

‘म पेरिस आउँदा निकै खुशी छु । मेरो लागि यो ठूलो अवसर हो,सान्चेजले भने, मैले सही निर्णय लिएको छु । फ्रान्समै रहनु मेरा लागि पहिलो प्राथमिकता थियो ।’

पिएसजीले शनिबार क्लेयरमोन्टविरुद्धको खेलसँगै लिग वानको उपाधि रक्षाको अभियान थाल्नेछ ।