फ्रेन्च लिग वान

व्यत्तिगत स्वार्थ त्याग्न ग्याल्टियरको आग्रह

पेरिस । फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ ग्याल्टियरले एकता भावनाले मात्र टोलीले ठूलो सफलता प्राप्त गर्ने बताएका छन् ।

यसै सिजन पिएसजी आएका ग्याल्टियरले टोली सदस्यमा व्यत्तिगत स्वार्थ हाबी हुँदा योजना अनुसारको नतिजा नआउने भन्दै सबै खेलाडीलाई टिम भावना अनुसार प्रदर्शन गर्न आग्रह गरे ।

उनले किलियन एमबाप्पे, नेइमार र लियोनल मेसीजस्ता स्टार खेलाडीको उपस्थितीमा पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसक्नुमा खेलाडीबीच एकता नहुनु प्रमुख कारण रहेको संकेत गरे ।

गत सिजन उनले निसको प्रशिक्षण सम्हालेका थिए । उनले नेइमार, एमबाप्पे र मेसीजस्ता स्टार खेलाडी विरलै एकै टोलीमा हुने भन्दै उनीहरुको उपस्थितीमा टोलीले क्लब इतिहासकै ठूलो सफलता निकाल्नेमा विश्वस्त रहेको समेत बताए ।

गत सिजन एम्बाप्पेले लिग वानको ३५ खेलमा २८ गोल गर्दा नेइमारले भने २२ खेलमा १३ गोल मात्र गरे । यता मेसीको नाममा भने २६ खेलमा मात्र ६ गोल रह्यो ।

पिएसजीले शनिबार लिग वानको पहिलो खेलमा क्लेरमोन्टको सामना गर्नेछ । जसमा ग्याल्टियरले नेइमार, मेसी र एमबाप्पेलाई एकै साथ मैदान उतार्ने सम्भावना रहेको छ ।

‘टोलीमा नेइमार, मेसी र एमबाप्पेको उपस्थिती छ , उनले भने, तर हामीले एउटा पक्षमा मात्र केन्द्रित हुनु भएन । टोलीमा सबैको तालमेल मिल्नु पर्यो । कुनै एक पक्षमा मात्र केन्द्रित हुँदा योजना अनुसारको सफलता मिल्दैन ।’