सुदूरपश्चिम स्पाेर्टस् अवार्ड

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डलाई मेरो रेडिमेड उद्योगको साथ

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा मेरो रेडिमेड उद्योग जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा मेरो रेडिमेड उद्योग सह–प्रायोजकको रुपमा जोडिएको हो । 

अवार्डका लागि गुणस्तरीय गार्मेन्ट कपडाहरुबाट विभिन्न किसिमका लुगाहरु उत्पादन गर्दै आएको मेरो रेडिमेड उद्योगले लगातार दोस्रो वर्ष सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो । यसअघि भएको दोस्रो संस्करणमा पनि उद्योगले सहयोग गरेको थियो । 

प्रायोजन सम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरले हस्ताक्षर गरे । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मेरो रेडिमेड उद्योगले सबै प्रकारका तयारी पोशाकहरु उत्पादन गर्दै आएको छ ।

उद्योगले महिला र बच्चासँग सम्बन्धित विभिन्न तयारी पोशाकहरु उत्पादन गर्दै आएको छ । प्रदेशको गौरब बढाउने खेलाडीलाई सम्मान गरिने कार्यक्रममा जोडिएको मेरो रेडिमेड उद्योगका प्रबन्ध निर्देशक मदन कुँवरले बताए । उनले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । त्यस्तै, वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह–प्रायोजकमा केल्मी रहेको छ । 

विभिन्न ८ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ । 
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।