महिला लिग छनोट

बागमतीको लगातार तेस्रो हार

तस्विरः एन्फा

काठमाडौं । महिला लिग छनोटमा बागमती प्रदेशले लगातार तेस्रो हार ब्यहोरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार बागमती कर्णाली प्रदेशसँग ३-२ ले पराजित भयो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको कर्णाली तेस्रो स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित बागमती अंकविहिन रहँदै पुछारमा छ ।

कर्णालीलाई जित दिलाउन सुनकला राई, ललिताकुमारी भाट र गरिमा राईले गोल गरे । बागमतीका लागि समित्रा तामाङ र सुनमाया गुरुङले गोल फर्काए ।

तस्विरः एन्फा

खेलको ४१औं मिनेटमा सुनकलाको गोलमार्फत कर्णालीले अग्रता लियो । तीन मिनेटपछि नै सुमित्राले पेनाल्टीमार्फत गोल गर्दै बागमतीलाई बराबरीमा ल्याइन् ।

पहिलो हाफको इन्जुरी समयमा ललिताले गोल गरेपछि कर्णाली २-१ ले अगाडि बढ्यो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गरिमाले गोल गर्दा कर्णालीको अग्रता ३-१ पुग्यो । इन्ज्युरी समयमा सुनमायाले गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।