सहिद स्मारक ‘बी’ डिभिजन लिग

खुमलटार र ब्वाइज युनियनले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबारको तेस्रो तथा अन्तिम खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५६औं मिनेटमा नरसिंह रानाले गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो । तर, ७९औं मिनेटमा मिलन लिम्बुको गोलबाट ब्वाइज युनियन बराबरीमा फर्किएको थियो ।

बराबरीसँगै खुमलटारले लिगका ११ खेलबाट १६ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको ब्वाइज युनियनको १० अंक छ ।

आजै भएको पहिलो खेलमा मध्यपुर युथ एसोसियसन क्लब र श्री भगवती क्लब गोलरहित र दोस्रो खेलमा सरस्वती युथ क्लब र सामाजिक युथ क्लब १–१ को बराबरीमा रोकिएका थिए।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।