म्याचेस्टर युनाइटेड

रासफोर्ड आफ्नो आत्मविश्वासका कारणले नै उत्कृष्ट लयमा छन्ः टेन हाग

काठमाडौं । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले स्ट्राइकर मार्कुस रासफोर्ड आफ्नो आत्मविश्वासका कारणले नै उत्कृष्ट लयमा रहेको बताएका छन्  ।

‘रासफोर्ड केवल आफ्नो आत्मविश्वासका कारणले मात्र उत्कृष्ट लयमा छन् । म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको प्रभावले होइन्’, हागले ठट्टा गर्दै भने,‘म ह्यारी पोटर होइन ।’

 बुधबार इएफएल कपको सेमिफाइनलको पहिलो लेगमा नटिङघम फरेस्टमाथि ३-० को सहज जित निकाल्दा  रासफोर्डले एक गोल गरेका थिए । यो उनको जारी सिजनको १८औं गोल हो ।

अहिले  प्रिमियर लिगका खेलाडीहरूमध्ये इर्लिग हाल्यान्ड (३१) मात्र रासफोर्डभन्दा अगाडी छन् ।  युनाइटेड शनिबार  एफए  कपको चौथो चरणमा रिडिङको समना गर्नेछ ।

‘यो केवल आत्मविश्वास हो। प्रत्येक खेलाडीमा आत्मविश्वास हुनुपर्छ र त्यसका लागि मिहेनत गर्नुपर्छ,’हागले भने,‘ रासफोर्डले आफुलाई सुधार गर्नका लागि कडा मिहेनत गरेको कारणले नै अहिले उत्कृष्ट लयमा छन् । पक्कै पनि म र मेरो कोचिङ टिमले यसमा केही सहयोग गरेको छ तर यो पूर्ण रुपमा उनकै आत्मविश्वासको फल हो ।’

रासफोर्डले कतार विश्कप २०२२ पछि युनाइटेडका लागि १० गोल गरिसकेका छन् ।