टाईगर कप

टाईगर कप: एपिएफ लगातार दोस्रो पटक च्याम्पियन

काठमाडाैं । साबिकको विजेता नेपाल  एपिएफ क्लब पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रोपटक च्याम्पियन बनेको छ ।

पोखरा रंगशालाको प्राङ्गणमा शनिबार सम्पन्न महिलातर्फको फाइनल खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।  

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट भने २२-२५ ले गुमाउन पुगेको थियो । त्यसपछिका दुई सेट २५-८ र २५-२२ ले आफ्नो पक्षमा पार्दै एपिएफ लगातार दोस्रोपटक च्याम्पियन बन्यो ।

अघिल्लो संस्करणमा पनि एपिएफ आर्मीलाई नै हराउँदै च्याम्पियन बिनेको थियो । उपाधिसँगै एपिएफले पाँच लाख प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार रूपैयाँ  पायो ।

सेमिफाइनलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई २५-१३, २५-१७  र  २५-२१ तथा आर्मीले न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई २३-२५ २५-१३, २५-२२  र  २५-१२ ले हराएका थिए ।

शुक्रबार महितातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले घरेलु टोली गण्डकीलाई २५-१९, २५-१६  र  २५-१६ ले पराजित गरेको थियो ।

प्रतियोगितामा महिलातर्फ चार टोलीको सहभागिता थियो ।

शनिबार नै पुरूषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई २२-२५ , २५-१८, २५-२१  र  २५- २० ले हराएको थियो ।

दुवैतर्फ तेस्रो स्थान हासिल गर्नेले एक लाख २५ हजार तथा चौथो हुनेले ६५ हजार प्राप्त गरे ।

पुरुषतर्फको फाइनलमा शनिबार नै एपिएफले घरेलु टोली गण्डकी प्रदेशको सामना गर्नेछ ।