साफ यु १५ महिला च्याम्पियनसिप

भुटानविरुद्ध एक खेलाडी परिवर्तन

काठमाडौं  । साफ यु १५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा भुटानविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेलमा प्रशिक्षक भगवती रानामगरले रेविका नेपालीको स्थानमा भुमिका बुढाथोकीलाई मौका दिएकी हुन् ।

प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित निकालेको थियो ।

यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले पराजित गरेको थियो ।

नेपाली टोली प्रतियोगितामा लगातार तेस्रो जितसहित उपाधि सम्भावना राख्न चाहन्छन । प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ ।

पहिलो खेलमा भुटानलाइ ८-० ले हराएको बंगलादेशले आइतबार भुटानमाथि ९-० को जितसहित च्याम्पियन बन्ने सम्भावना कायम राखेको हो ।

दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ ।

नेपाली टोलीः
गोलकिपरः सुजता तामाङ
रक्षकः सिता रोकाया, विपना स्नेही, अमिता भुल,  सिम्रन राई
मिडफिल्डरः सुशिला केसी, भुमिका नेपाली, सुक्रिया मिया
स्ट्राइकरः समिक्षा मगर, दिपा रोकाया (कप्तान), वर्षा ओली