ट्वान्टी २० विश्वकप

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं । न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै पाकिस्तान आईसिसी ट्वान्टी२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा भएको पहिलो सेमिफाइनलमा ओपनर द्वय बाबर आजम र मोहम्मद रिजवान चम्किएपछि पाकिस्तानले सहज जित निकालेको हो ।

एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान १९.१  ओभरमा तीन विकेट गुमाउँदै विजयी भयो । पाकिस्तानको जितमा दुई खेलाडीले अर्धसतक बनाए । पहिलो विकेटका लागि कप्तान बाबर आजम र मोहम्मद रिजवानले एक सय ५ रनको साझेदारी गरे पछि पाकिस्तान सहज जितसहित फाइनलमा स्थान बनाउन सफल भयो ।

४३ बलमा पाँच चौका मद्धतमा रिजवानले सर्वाधिक ५७ रन बनाएका थिए ।  ४२ बलमा ५३ रन बनाएका बाबरले सात चौका प्रहार गरे ।  यसैगरी मोहम्मद हरिसले ३० रनको योगदान गरेका थिए । 

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट दुई विकेट लिएका थिए ।

यस अघि टस जितेर सुरुवाती ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५२ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५३ रन जोडेका थिए ।

यसैगरी कप्तान केन विलियम्सनले ४२ बलमा एक चौका र एक छक्का मद्दतमा ४६ रनको योगदान गरे । डेभन कोन्वेले २१ र जेम्स निशमले १६ रनको योगदान गरेका थिए ।

पाकिस्तानका साहिन शाह अफ्रिदले दुई विकेट लिएका थिए । साहिनले चार ओभरमा २४ रन खर्चिएका थिए । यसैगरी मोहम्मद नबाजले एक विकेट लिन सफल भएका थिए ।  

यस खेलसँगै न्युजिल्यान्डको लगातार दोस्रो पटक ट्वान्टी२० विश्वकपको फाइनल खेल्ने लक्ष्यले पूर्णता पाएन  । गत संस्करणको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो ।

न्युजिल्यान्ड समूह वान विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने पाकिस्तान समूह टु को उपविजेता हुँदै सेमिफाइनमा स्थान बनाएको थियो ।

दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इङल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार मेलबर्न क्रिकेट मैदानमा हुने तय छ ।