साफ यु १५ महिला च्याम्पिनसिप

भुटानलाई हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौं । साफ यु १५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानलाई १–० अन्तरले पराजित गरेको छ ।

बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा प्राप्त जितसँगै नेपाल तालिकाको शीर्षस्थानमा फर्किएको छ । नेपाल तीन खेलबाट सत प्रतिशत जितसहित नौं अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट बंगलादेश ६ अंक सहित दोस्रो स्थानमा छ । भुटान चार खेलबाट विना अंक पुछारमा छ ।

यसजितसँगै नेपाल च्याम्पियन बन्ने दौडमै रहेको छ । अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ । सो खेल बराबर गरेमात्रै पनि नेपाल च्याम्पियन बन्नेछ । डबल राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ ।


यस अघि नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित निकालेको थियो । यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले पराजित गरेको थियो ।

बुधबार नेपालले भुटानविरुद्ध गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । वर्षा ओलीको स्थानमा मैदान प्रवेश गरेकी सेनुले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन् ।