विश्वकप

दोस्रो विश्व युद्धपछिको पहिलो विश्वकप

१९५०, ब्राजिल (चौथो विश्वकप) 
जुन २४ देखि जुलाई १६ सम्म
सहभागी टोली– १३
खेल संख्या– २२
गोल संख्या– ८४ (प्रतिखेल ४ गोलऔसत)
दर्शक– १० लाख ४३ हजार ५ सय (प्रतिखेल ४७ हजार ४ सय ३१)
विजेता– उरुग्वे
उपविजेता– ब्राजिल
तेस्रो– स्विडेन
चौथो– स्पेन
गोल्डेन जुत्ता– एडेमिर (ब्राजिल)

 

सन् १९५० को विश्वकप आयोजना गर्न ब्राजिलले विश्वको सबैभन्दा ठूलो रंगशाला तयार पारेको थियो । तीन तले माराकाना रंगशालामा पहिलो विश्व उपाधि सजाउने ब्राजिलको आशामा फुटबल इतिहासकै सबैभन्दा आश्चर्यजनक नतिजा बाधक बन्यो । 

फाइनल मानिएको अन्तिम चरणमा चार टोली भिडेका थिए । आयोजक ब्राजिल र उरुग्वेको अन्तिम खेल नामका लागि फाइनल नै थियो । उपाधि जित्न बराबरी मात्र गरे हुने अवस्थामा ब्राजिलले ४७औं मिनेटमा फ्रिएकाको गोलमा अग्रता लियो । तर हुँवा सिएफिनो र अल्सिडेज झिझिआले गोल गरेपछि माराकानामा उपस्थित २ लाख दर्शक आवाजहीन बन्दा उरुग्वेले दोस्रो पटक उपाधि उचाल्यो । 

विश्वकपको पहिलो संस्करण जितेको उरुग्वेले एकमात्र खेलमा बोलिभियालाई ८–० ले पराजित गरी अन्तिम चरणमा पुगेको थियो । फाइनल चरणका सबै तीन खेलमा इभान लोपेजको टोली १ गोलले पछाडि परे पनि आफूअनुकुल नतिजा निकाल्दै ‘माराकानाजो’ उपाधि पाएको थियो । ब्राजिललाई प्रसिद्ध माराकानोमा हराउने विदेशी टोलीलाई स्पेनिसहरूले ‘माराकानोज’ भन्ने गर्दथे । 

दोस्रो विश्व युद्धपछिको यो पहिलो विश्वकप थियो । त्यस बावजुद फिफाका इटालियन उपाध्यक्ष डा. ओटोरिनो बारासीले आफ्नो जुत्ता राख्ने बाकसमा विश्वकप ट्रफी लुकाएर जोगाए । सोही कारण यसलाई फिफाका पूर्वअध्यक्ष जुल्स रिमेटको नाममा नामाकरण गरिएको थियो । 

सहभागी १३ टोली

पूर्वी युरोपका टोलीहरूको अनुपस्थितिमा केबल १३ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता नखेल्ने प्रमुख टोलीमा अर्जेन्टिना र फ्रान्स पनि थिए । खेल तालिकामा ब्राजिलमै ३५ सय किलोमिटरको लामो दूरीमा खेल खेल्नुपर्ने भएपछि फ्रान्सले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । 
ब्रिटिस घरेलु च्याम्पियनसिप जितेपछि इङ्ल्यान्डले पहिलो पटक विश्वकप खेल्ने अवसर पाएको थियो । प्रतियोगितामा दोस्रो भएर विश्वकपका लागि छनोट भए पनि स्कटल्यान्डले नखेल्ने निर्णय ग¥यो । यस्तो निर्णय गर्नेमा टर्की र भारत पनि थिए । फिफाले खाली खुट्टामा खेल्न नदिएपछि भारतले नखेल्ने निर्णय गरेको थियो । हिन्दु खेलाडीको बाहुल्य रहेकाले भारतले छालाको जुत्ता लगाएर खेल्न मानेन । उरुग्वेसहित दक्षिण अमेरिकी क्षेत्रको पाँच टोली छनोट चरण नखेली विश्वकपका लागि छानिएका थिए ।

पहिलो चरणको खेलतालिका निकै अनौठो थियो । दुई समूहमा ४÷४, तेस्रोमा ३ तथा चौथोमा दुई टोली थिए । चौथो समूहका दुई टोलीमा उरुग्वे र बोलिभिया थिए । माराकानामा ब्राजिलको उद्देश्यमा फ्लाभियो कोस्टाको टोलीले मेक्सिकोलाई ४–० ले पराजित गरी पहिलो चरणको सुरुवात गरेको थियो । स्विट्जरल्यान्डसँग २–२ को बराबरीमा रोकिएपछि ब्राजिलले अन्तिम खेलमा युगोस्लाभियालाई हराउनै पर्ने थियो । त्यसका लागि घरेलु टोलीले अनौठो फाइदा पनि उठायो । रंगशालाको भ¥याङबाट ओर्लिने क्रममा ठोक्किएर युगोस्लाभियाका फरवार्ड राज्को मिटिजको टाउको फुटेको थियो । उनी उपचार गराइरहँदा एडेमिरको गोलमा ब्राजिलले अग्रता लियो । त्यसमा जिजिन्होले दोस्रो गोल थपे । 

ब्राजिलले आफ्नो यात्रा अगाडि बढाउँदा साबिक विजेता इटाली भने स्विडेनसँग ३–२ ले पराजित भई प्रतियोगिताबाट बाहिरियो । १९४८ को ओलम्पिक जितेको स्विडेनले आफ्ना तीन महŒवपूर्ण खेलाडी गुनार ग्रेन, गुनार नोर्दहाल र निल्स लिइडहोल्मलाई सिरी ‘ए’ का कारण गुमाएको थियो । तर पनि जर्जे रायनोरको टोलीसँग इटालीलाई हराउने पर्याप्त क्षमता थियो । इटालीको पीडा आफ्नै थियो । अघिल्लो वर्ष सुपरगा प्लेन दुर्घटना हुँदा राष्ट्रिय टोलीमा पनि समावेश टोरिनोका १९ खेलाडीले ज्यान गुमाएका थिए । 

इङ्ल्यान्ड स्तब्ध
पहिलो पटक विश्वकप खेलिरहेको इङ्ल्यान्डले लाजमर्दो पराजय भोगेपछि खुसी मनाउनेमा रायनोर मात्र एक्लो इङ्लिस व्यक्तित्व थिए । रायनोरको स्विडेनले प्रतियोगितामा तेस्रो स्थान हात पा¥यो । फुटबलको जन्मदाता मानिएको इङ्ल्यान्डको तयारी कमजोर थियो र टोली पहिलो खेलमै अमेरिकासँग पराजित भयो । स्कटिस प्रशिक्षक बिल जेफ्रीको प्रशिक्षणमा रहेको अमेरिकाले अर्को खेलमा स्पेनविरुद्ध पनि अग्रता लिए पनि पछि तीन गोल खान पुग्यो । 

अमेरिकासँग १–० ले पराजित भए पनि इङ्ल्यान्डका छापाहरूमा ब्रिटिस टोली १०–१ ले विजयी भएको भन्ने ठूलो त्रुटिपूर्ण समाचार प्रकाशित भए । स्पेनसँग पनि १–० को अन्तरमै पराजित भएपछि इङ्ल्यान्ड प्रतियोगिताबाट बाहिरिएको थियो । वास्तविकता के थियो भने इङ्ल्यान्डको टोलीमा अल्फ राम्सीजस्ता खेलाडी थिए । इङ्ल्यान्डले १६ वर्षपछि १९६६ को विश्वकप जित्दा राम्सी टोलीका प्रमुख खेलाडी थिए । 

अन्तिम चरणमा ब्राजिलले एडेमिरको ४ गोलमा स्विडेनलाई ७–१ ले पराजित गरी प्रतियोगितामा सानदार सुरुवात गरेको थियो । एडेमिरले प्रतियोगितामा सर्वाधिक ८ गोल गरे ।

अर्को खेलमा स्पेनलाई ६–१ ले पराजित गरेपछि ब्राजिलको एउटा हातमा ट्रफी परेको जस्तै भइसकेको थियो । दुबै हातले ट्रफी उठाउन टोलीले उरुग्वेलाई अन्तिम खेलमा रोके मात्र पुग्थ्यो । मध्यान्तरसम्म पछाडि परेको उरुग्वेले स्विडेनलाई २–२ को बराबरीमा रोकेको थियो भने त्यसपछिको खेलमा स्पेनलाई ३–२ ले पराजित गरेको थियो । 

तीन महिनाअघि यी दुई टोलीबीच भएको तीनमध्येको एक अध्यास खेल जितेर उरुग्वेले आत्मविश्वास बलियो बनाइसकेको थियो । फाइनल साबित खेल सुरु हुनु अगाडि साओ पाउलोको गाजेटा इस्पोर्टिभाले आफ्नो समाचारको शीर्षकमा लेखेको थियो, ‘भोलि हामी उरुग्वेलाई पराजित गर्नेछौं ।’ खेल सुरु हुनु अगाडि १ लाख ७४ हजार दर्शक रंगशालाभित्र पसेको आधिकारिक गणना गरिएको थियो भने खेल सुरु भइसकेपछि यो संख्या २ लाख पुगेको अनुमान गरियो, जहाँ रिओको मेयरले खेल सुरु हुनुअगाडि नै ब्राजिल विश्व च्याम्पियन बनिसकेको घोषणा गरेका थिए ।