पुनमको मुटुको शल्यक्रिया गर्नुपर्ने

काठमाडौं, (खेलाडी)- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी रक्षक पुनम जर्घा मगरको मुटुको शल्यक्रिया गर्नुपर्ने भएको छ । 

गत हप्ता गरिएको फिफा प्रि कम्पिटिसन मेडिकल एसेसमेन्ट (पिसिएमसी) मा मुटुको समस्या देखिएपछि बिहीबार बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा उनी मैदान उत्रिन सकेकी थिइनन् । 

तथापि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले राष्ट्रिय गान गाउने बेलासम्मका लागि उनलाई समेत समेटेर १२ खेलाडी मैदान छिराएका थिए । 

पछिल्लो समय खेल दौरान धेरै खेलाडीको स्वास्थ्य समस्याका कारण दूर्घटना हुन थालेपछि फिफाले खेलअघि नै स्वास्थ्य जाँच गर्नुपर्ने प्रावधान राखेको छ । सोही प्रावधानअनुसार जाँच गरिँदा पुनमको मुटुमा समस्या देखिएको थियो ।

बिहीबारको प्रारम्भिक रिपोर्टका आधारमा एक खेल गुमाएकी उनको शुक्रबार पुनः परिक्षण गरिएको थियो । शनिबार त्यसको रिपोर्टमा पनि मुटुमा समस्या देखिएपछि उनको शल्यक्रिया गर्नुपर्ने भएको छ । तथापि शल्यक्रियाको मिति भने तय भइसकेको छैन । 

‘डाक्टरहरुले मुटुमा जाली हाल्नुपर्छ भन्नुभएको छ । दुई/तीन हप्तामा ठिक हुन्छ भन्नुभएको छ,’ २०१४ देखि राष्ट्रिय टोलीबाट नियमित खेलिरहेकी रक्षकले भनिन्, ‘तत्काल खेल्न नसके पनि केही समयपछि खेल्न सकिन्छ भन्नुभएको छ ।’