नेपाली फुटबल

पुनम, दीपा र इन्दिराले लिए संन्यास

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलपछि नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले संन्यास लिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने बंगलादेशसँगको फाइनलपछि नेपाली टिमकी रक्षक पुनम जर्घामगर र मिडफिल्डरद्वय दीपा राई, र इन्दिरा राई संन्यास लिएका हुन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ब्लेजर कोट लगाई बिदाइ गरे ।

पुनम जर्घामगर

पछिल्लो दुई प्रतियोगितामा स्वास्थ्यमा समस्या देखिएपछि पुनम टिम बाहिर थिइन् । तर, स्वास्थ्य पूर्ण रुपमा ठिक भएपछि पुनम राष्ट्रिय टोलीमा पुनरागमन गरेकी थिइन् । प्रशिक्षक कुमारले २९ वर्षीय पुनमलाई करिब एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गराएका थिए । रौतहटकी पुनम त्रिभुवन आर्मी फुटबल क्लबकी रक्षक समेत हुन् । हाल राष्ट्रिय टोलीमा ३८ खेल खेलेकी पुनमले एक गोल गरेकी छिन् । विराटनगरमा पुनमले सेट पिसमै श्रीलंकाविरुद्ध सुरुआती गोल गरेकी थिइन् ।

दीपा राई

राष्ट्रिय टोलीकी नियमित सदस्य दीपा घरेलु मैदानमा हुने साफको २३ टोलीभित्र स्थान बनाउन सफल भएकी थिइन् । त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध दीपा उदयपुरकी खेलाडी हुन् । ३३ वर्षीय दीपाले राष्ट्रिय टोलीबाट ३६ क्याप जितेकी छिन् । यस्तै, उनले एक गोल समेत गरेकी छिन् । मिडफिल्डर दीपा मैदानको मध्यभागमा बल होल्ड गर्न र लामो सट प्रहार गर्न निकै माहिर छिन् । विराटनगरमा भएको पाँचौ साफमा उनी टोलीको महत्वपूर्ण सदस्य थिइन् ।

उनले छैटौं साफ च्याम्पियनसिप प्रतियोगितामा श्रीलंकासँगको खेल मात्र खेलिन् । उनी दोस्रो हाफमा सेन्ट्रल मिडफिल्डर सरु लिम्बुलाई ८५औं मिनेटमा परिवर्तन गर्दै मैदान छिरेकी थिइन् ।

इन्दिरा राई

विभागीय टोली त्रिभुवन आर्माी फुटबल क्लबकी नियमित खेलाडी इन्दिराले जारी साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । यद्यपि, मोरङकी इन्दिराले राष्ट्रिय टोलीमा कम अवसर पाउने गरेकी छिन् । ३१ वर्षीय इन्दिरा डिफेन्सिभ मिडफिल्डर हुन् ।