नेपाली महिला फुटबल

उपविजेता मेडल, महिला फुटबल टिमको सबैभन्दा भारी पदक

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशलाई ३-१ ले नजिता सुम्पिएपछि नेपालले पुनः एकपटक उपविजेतामा चित्त बुझायो ।

च्याम्पियन्ससिपको छैटौं संस्करण समापन हुँदा नेपाल लगातार दोस्रो र समग्रमा पाँचौ पटक उपविजेतामा सीमित बनेको हो । सन् २०१६ को चौथो संस्करणबाहेक नेपालले सन् २०१० को पहिलो संस्करणदेखि उपविजेताको मेडल मात्र लगाउँदै आएको छ ।

रोचक संयोग त के भने प्रतिद्वन्दी भारत भए पनि पछिल्लो संस्करणको फाइलनमा पनि नेपाल ३–१ ले नै पराजित भएको थियो ।

छैटौं संस्करणको फाइनलअघिसम्म नेपालसँग बंगलादेशविरुद्ध हालसम्म अपराजित रहेको गर्विलो इतिहास थियो । योसँगै अर्को थियो, दशरथ रगंशालामा अपराजित यात्रा ।

तर, फाइनलको निर्धारित ९० मिनेट र त्यसपछिको चार मिनेट इन्जुरी समयपछि नेपालको यो गर्विलो कीर्तिमान बंगलादेशले चकनाचुर पार्यो ।

यसअघि सँधै पुरुषसरह साथ पाएनौं भनेर गुनासो गर्ने महिला टिमले पहिलो पटक १५ हजार दर्शक क्षमता रहेको रंगशालामा भरिभराउ समर्थकमाझ खेल्न पाए । साच्चै, प्यारापिटबाट दर्शकले नेपाली टिमप्रति देखाएको माया तारिफयोग्य र स्वागतयोग्य थियो ।

तर, यो मैदानका १५ हजार सात सय २० र करिब तीन करोड नेपाली समर्थकलाई उपाधि घरमै राखेर खुसी दिन भने नेपाली टिम चुक्यो ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगिताको पूर्व सन्ध्यामा यस पटक भारतलाई पनि हराउने र उपाधि पनि जित्ने दाबी गरेका थिए । दुईमध्ये नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल त भयो । सधै मुखमा आएको गाँस खोस्ने सदाबहार प्रतिद्वन्दी भारतको चुनौती पन्छाए पनि फाइनलको नतिजामा भने कुनै परिवर्तन भएन । यसपाली नयाँ प्रतिद्वन्दी बंगलादेशले गाँस खोस्यो । सँगै नेपाली महिला टिमको घरेलु मैदानमा च्याम्पियन बन्ने सपना पनि ।

६ मध्ये पाँच संस्करणमा उपविजेताको मेडल लगाएको नेपाली महिला टिमका लागि अहिले यो सबैभन्दा भारी  पदक बनेको छ ।

सँधैको प्रतिद्वन्दी भारतलाई मात्र चुनौती देख्ने नेपालले अब बंगलादेशको अर्को जब्बर प्रतिद्वन्दीता पाएको छ । दक्षिण एसियन महिला फुटबलमा सँधै दुई उपाधि दाबेदार थिए । अब यसमा अर्को टिम ‘एन्ट्री’ भएको छ ।

सँधै फाइनलसम्मको यात्रा तय गर्ने नेपालका लागि अब भने फाइनलका लागि पनि ‘यो पाली सकिन्छ त’ भन्ने दोधारो संशय पैदा हुने पक्का भइसकेको छ ।

१२ वर्षअघि पहिलो संस्करणमा नेपालले सेमिफाइनलमा बंगलादेशको चुनौती ३-० ले पन्छाउँदै उपाधिका लागि भारतसँगको भेट पक्का गरेको थियो । तर, समय बदलियो, दक्षिण एसियाका महिला फुटबल टिमहरु पनि बदलिए । बंगलादेश बदलियो, भुटान बदलिँदै छ । नबदलिएको त नेपाल मात्र हो । जुन पहिलो संस्करणको पनि फाइनल पुगेको थिया र सोमबार सम्पन्न छैटौं संस्करणको पनि फाइनलसम्म नै ।

यसअघि एक पटकमात्र फाइनल पुगेको बंगलादेशले दोस्रो पटकमै साफ महिला च्याम्पियनसिपका विजेताको सूचीमा आफ्नो नाम थप्यो । तर, नेपालले पाँचौ पटकमा पनि सकेन र अब यो कहिले हुन्छ त्यो ठोकुवा गर्ने साहस अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग पनि छैन । गर्ने पनि कसरी, त्यसका लागि त लगानी चाहिन्छ । तर, लगानी गर्ने कसले ? त्यसै पनि हामी फाइनल पुगिराखेकै छौ किन गर्ने !

उपाधि जितेपछि बंगलादेशका मुख्य प्रशिक्षक गोलम रोबानी छोटोनले बंगलादेशका लागि उपाधि जित्ने यो टिम सन् २०१६ देखि यसका लागि अघि बढेको बताए ।

‘२०१६ बाट बंगलादेशी टिममा परिवर्तन सुरु भएको हो, जब हामी थाइल्यान्डमा यु १६ छनोटमा छनोट भएका थियौं । पछिल्लो ५-६ वर्षयता हाम्रा टिमले उमेर समूहदेखि नै धेरै प्रतियोगिताहरु खेल्दै आए । बंगलादेशको यो परिवर्तन उमेरसमूह हुँदै आएको हो,’ छोटोन भन्छन् ।

यता, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी बंगलादेशकी कप्तान सविना खातुनले आफ्नो टिमले अझै पनि क्रमिक रुपमा सुधार गर्दै गइरहेको बताइन् ।

‘म उत्कृष्ट खेलाडी घोषित भए । टिमले उपाधि जित्यौं । हामीले हाम्रो लक्ष्य पूरा गर्यौं । ढाँकाबाट नेपाल आउँदै हामी प्रतियोगिताको उपाधि जित्न चाहन्थौं र ममा हामी यो सक्छौं भन्ने विश्वास थियो,’ कप्तान सविनाले भनिन्, ‘भारत र नेपाल सँधै दक्षिण एसियाका उत्कृष्ट टिम हो । तर, हामी अहिले फुटबलमा क्रमिक रुपमा सुधार गर्दै छौं ।’

बंगलादेशको हारपछि नेपाली टिमका प्रशिक्षक कुमार थापाले नेपालमा ट्यालेन्ट भए पनि घरेलु फुटबल संरचना गतिलो नहुँदा हराउन सक्ने भन्दै एन्फाले यसबारे सोच्न आवश्यक रहेको बताए ।

‘दक्षिण एसियाका सातवटा देशमा हाम्रो स्तर ठिक हो । तर, घरेलु लिग संरचना राम्रो छैन । महिला खेलाडीलाई एन्फासँग प्लान होला, मलाई थाहा छैन । नेपालमा ट्यालेन्ट छन् । यसबारे सोच्न आवश्यक छ ।’

नेपाली टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा पनि म्याच एक्सपोजर नहुँदा खेलाडीमा अन्तर्राष्ट्रिय खेलका लागि पर्याप्त अनुभव बटुल्न नसकेको दुखेसो पोखिन् ।

‘नेपाली टिमको प्रदर्शन राम्रो छ । नेपाली टिममा म्याच एक्पोजरको कमी भएको जस्तो लाग्छ । खेलहरुबाटै अनुभव बटुल्ने भए पनि हामीले त्यसको पर्याप्त मौका पाएका छैनौं ।’