निर्वाचनमा खेलाडी

एन्फा उपाध्यक्ष केसी प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसी रुपन्देही जिल्लाको क्षेत्र नम्बर दुई (क) बाट प्रदेश सभा सदस्यको उम्मेदवारीका लागि सिफारिसमा परेका छन् ।

नेपाली कांग्रेस प्रदेश कमिटी तथा क्षेत्रीय कमिटीले केसीलाई मंसिर चार गते हुने संघीय संसद तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसद पदमा उम्मेदवार बनाउन प्रस्ताब गरेको हो ।

सत्ता गठबन्धनको सिट बाँढफाँटमा रुपन्देही क्षेत्र नम्बर दुई (क) काग्रेसको भागमा परे र केसीको पक्षमा अन्तिम निर्णय भए उनी गठबन्धनको साझा उम्मेदवार हुने छन् ।

बुटवल नगरपालिका सात निवासी केसीले २०४६ सालमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)बाट राजनीति सुरु गरेका थिए । २०४९ सालमा नेपाल ट्रेड युनियन काग्रेससँग आबद्ध नेपाल यातायात मजदुर संघको सदस्य भएका उनी केन्द्रिय सदस्य र उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत छन् ।

२०५६ सालमा तरुण दलको सदस्य भएका उनी १३औं महाधिवेसनबाट महासमिति सदस्य तथा १४औं महाधिवेशनबाट लुम्बिनी प्रदेश सदस्य भएका थिए । लुम्बिनी निर्माण व्यावसायी संघको कोषाध्यक्ष तथा दुई कार्यकाल अध्यक्षका रुपमा काम गरिसकेका केसीसँग दुई कार्यकाल रुपन्देही जिल्ला फुटबल संघमा अध्यक्षको रुपमा नेतृत्व गरेको अनुभव छ ।

अघिल्लो कार्यकालमा एन्फाको केन्द्रिय सदस्य रहेका उनी दुई महिनाअघि सम्पन्न निर्वाचनबाट उपाध्यक्ष चुनिएका हुन् । केसी नेपाल ओलम्पिक कमिटीका पनि बोर्ड सदस्य हुन् ।