नेपाल भलिबल संघ

उम्मेदवारी फिर्ता लिन मास्के र छन्त्याललाई धामीको आह्वान

काठमाडौं । नेपाल भलिबल संघका उपाध्यक्ष हर्कसिंह धामीले अध्यक्ष पदमा निरोज मास्के र महासचिव पदमा मनवीर छन्त्यालले दिएको उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् ।

आइतबार महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेपछि सोही कार्यक्रममा बोल्दै धामीले मास्के र छन्त्यालले उम्मेदवारी फिर्ता लिएर आफूसँगै जोडिन आग्रह गरे ।

‘मनवीर र निरोजजीले आफ्नो उम्मेदवारी फिर्ता लिएर हामीसँग आउनु भयो भने राम्रो होला । निरोजजीलाई मैले नै प्रदेशमा ल्याएको थिए । जितेन्द्रजीलाई सुदूरपश्चिमकै भएर साथ दिन लागेको हैन । उहाँ राम्रो मान्छे हुनुहुन्छ त्यसैले हो,’ उनले भने, ‘यहींबाट उम्मेदवारी फिर्ताको आह्वान गर्छु ।’

नेपाल भलिबल संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिएको दुई वर्षपछि संघले बुधबार निर्वाचन गर्ने तयारी गरेको छ । त्यसका लागि उपाध्यक्ष मास्केले अध्यक्ष र सचिव छन्त्यालले महासचिव पदमा दाबेदारी दिइसकेका छन् ।