साफ यु -१७ च्याम्पियनसिप

नेपाली टोली कोलम्बो पुग्यो

काठमाडौ । साफ यु -१७ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार राती श्रीलंकाको कोलम्बो पुगेको छ । 

सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपालले बुधबार भुटानविरुद्ध खेल्नेछ । समूह ‘बी’ को दोस्रो खेलमा नेपालले साविकको विजेता भारतको सामना गर्नेछ । 

उद्घाटन खेलमा सोमबार भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यु-१५ र यु-१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता पहिलो पटक यु- १७ को उमेर समूहमा हुन लागेको हो ।

नेपाल सन् २०१३, २०१५ र २०१७ गरि तीन पटक फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग निराश भएको थियो ।

समूह ‘बी’मा नेपालसहित भुटान र भारत तथा समूह ए मा श्रीलंका र माल्दिभ्स रहेका छन् । 

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते हुनेछ ।

नेपाली टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् भने व्यवस्थापकमा बाबुकाजी बस्नेत रहेका छन् ।

नेपालले यस प्रतियोगितालाई भियतनाममा अक्टोबरमा हुने एएफसी एसियन कप क्वालिफायरको तयारीको रुपमा लिएको छ ।