इङ्लिस प्रिमियर लिग

सिटीले आफ्नो क्षमता प्रमाणित गर्योः ग्वार्डिओला

लन्डन । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आइतबार इङलिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग ३–३ को बराबरीमा रोकिए पनि आफूहरुले आफू को हौ भन्ने प्रमाणित गरेको दाबी गरेका छन् ।

सेन्ट जेम्स पार्कमा एल्के गुन्डोगानको गोलमा सिटीले अग्रता लिएको थियो । तर पहिलो हाफमा मिग्वेल अल्मिरोन र कालुम विल्सन तथा दोस्रो हाफमा केइरन ट्रिइपरले न्युक्यासलको अग्रता ३-१ मा पुर्याएका थिए ।

एर्लिङ हाल्यान्ड र बर्नार्डो सिल्भाको गोलमा सिटीले सिजनको पहिलो हाफको संकट टारेको थियो । पहिलो खेलमा वेस्ट हमलाई २-० ले हराएको सिटीले दोस्रो खेलमा बर्नामाउथलाई ४-० ले निराश पारेको थियो ।

‘टोलीले आज आफ्नो क्षमता प्रमाणित गरेको छ’, ग्वार्डिओलाले भने, ‘हामीले राम्रो सुरुआत गरेका हौ तर पनि टोलीले आफ्नो लय गुमायो । दोस्रो हाफमा टोलीले आफ्नो लय भेट्टाउँदै हार टार्न सफल भयो ।’

‘आज हामी दुई गोलले पछि परिसकेका थियौ, जसले हाम्रो जितको सम्भावना न्युन बनाइसकेको थियो,’ग्वार्डिओलाले थपे, ‘न्युक्यासल पछिल्लो दिनमा कठिन प्रतिद्धन्द्धी बन्दै आइरहेको छ । आज लिड्सले चेल्सीमाथि सहज जित निकाल्यो । यसले प्रिमियर लिगमा कुनै पनि प्रतिद्धन्द्धी सहज छैनन् भन्ने पुनः देखाएको छ । हामीले पछिल्लो पाँच वर्ष स्वभाविक लय कायम राख्दै आइरहेका छौ । जसले हाम्रो उत्कृष्ट लयलाई थप प्रमाणित गर्छ ।’