स्पेनिस ला लिगा

बार्सिलोनाको पहिलो जित

मड्रिड । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले बार्सिलोनाका लागि गोल खाता खोलेको दिन आइतबार उनको टोलीले स्पेनिस ला लिगामा पहिला जित निकाल्ने क्रममा रियाल सोसिडाडलाई ४-१ ले निराश पारेको छ ।

लेवान्डोवस्की यसै सिजन जर्मन महारथी बायर्न म्युनिखबाट बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

खेलको पहिलो मिनेटमै लेवान्डोवस्कीले बार्सिलोनाका लागि गोल खाता खोल्दै आफ्नो जन्मदिन सुखद पार्ने संकेत गरेका थिए । तर बार्सिलोनाले आफ्नो अग्रता लामो समय टिकाउन सकेन । त्यसको पाँच मिनेटपछि नै एलेक्जेन्डर इसाकले सोसिडाडलाई खेलमा फर्काएका थिए । 

६६औं मिनेटमा ओसामाने डेम्बेलेले बार्सिलोनालाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले व्यत्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ डोहोर्याएका थिए । ७९औं मिनेटमा अंशु फातीले बार्सिलोनाका लागि चौथो गोल गरे ।

ला लिगाअन्तर्गत आइतबार सम्पन्न अर्को खेलमा एट्लेटिको मड्रिड भने भियारियालसँग २-० ले स्तब्ध भयो ।