सैलुङमा प्रथम उपराष्ट्रपति कप फुटबल हुने

काठमाडौं, (खेलाडी)- दोलखाको सैलुङ गाउँपालिकामा अर्को महिना प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने भएको छ ।

सैलुङको गुराँसदेवी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा देशका प्रतिष्ठित क्लबका खेलाडीको सहभागिता रहने आयोजकले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । 

‘काठमाडौं उपत्यकावाहिर पनि प्रतिस्पर्धात्मक फुटबल प्रतियोगिता हुनुपर्छ भन्दै खेलको दिगो विकास गर्ने विकेन्द्रिकरणको सोचअनुसार यो प्रतियोगिता हुन लागेको हो,’ क्लबद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उप राष्ट्रपति नन्दबहादुर पुनलाई यस ऐतिहासिक भुमि दोरम्बा सैलुङ गाउँपालिकामा प्रमूख अतिथिको रुपमा निमन्त्रणा गर्न पाउँदा हामी गौरवान्वित छौं ।’ 

असोज ३१ देखि हुने प्रतियोगिता कात्तिक ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले पुरस्कार स्वरुप २ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । 

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर, रक्षक, मिड्फिल्डर, स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।