पूर्व राजाका नाती ह्दयेन्द्र नेपाल-भारतको खेल हेर्न रंगशालामा

काठमाडौं, (खेलाडी)– कुनै समय थियो, दशरथ रंगशालामा हुने प्रत्येक जसो ठूला खेलमा पूर्व राजपरिवारका सदस्यहरुको उपस्थिती रहने गर्थ्यो । 

२०६३ मा लोकतन्त्र स्थापना हुनु अघिसम्म अत्यन्तै तामझामपूर्ण तरिकाले हुने शाही उपस्थितिले आम दर्शकलाई सास्ती दिए पनि खेल प्रशासक तथा खेलकर्मीलाई एकखालको उर्जा पनि प्रदान गर्थ्यो । 

राजनीतिले पछिल्लो १५ वर्षमा धेरै फड्को मारिसकेको छ । देश राजा अत्यन्तै शक्तिशाली रहेको बहुदलीय व्यवस्थाबाट शाही कालको अझ कडा व्यवस्थामा पुगेको नेपाली राजनीति अहिले लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुगेको छ । 

राजा पूर्व राजा भएका छन् । राजपरिवार अव सामान्य नागरिक भएका छन् । राजपरिवारका सदस्यको आगमनले सडकमा ट्राफिक जाम बेहोर्नु पर्दैन । रंगशालामा उनीहरु रहेसम्म शौचालय पनि जान नपाउने सास्ती बेहोर्नु पर्दैन । 

राजनीतिक परिवर्तनसँगै जीवनशैलीमा पनि धेरै परिवर्तन आएको छ । तर राजपरिवारका सदस्यको खेलमोह भने कायम छ ।

पूर्व राजाका नाती ह्दयेन्द्र शाह बिहीबार पहिलो पटक फुटबल हेर्नका लागि सार्वजनिक रुपमा दशरथ रंगशालामा देखिए । १९ वर्षका पूर्व नवयुवराज शाह आफ्ना दुई साथीहरुसँग नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल हेर्न रंगशाला पुगेका थिए । 

‘उहाँ फुटबल हेर्न भनेर आउनुभएको रहेछ । सुरक्षाकर्मीहरुले धिरेन्द्र दाइ (एन्फाका पूर्व महासचिव धिरेन्द्र प्रधान)लाई जानकारी गराउनुभएछ । त्यसपछि धिरेन्द्र दाईले सुरक्षाकर्मीहरुको साथ लगाएर उहाँलाई भित्र ल्याउनुभयो,’ एन्फाको लिग कमिटीका सह संयोजक रमेश रायामाझीले खेलाडीसँग भने ।

पूर्व युवराज पारस शाहका पुत्र ह्दयेन्द्र कसैलाई पनि खवर नगरी आफ्नै तरिकाले फुटबल हेर्न आएका थिए । तर रंगशालाको मुल गेटमा सुरक्षाकर्मीले थाहा पाएपछि प्रधानमार्फत एन्फा पदाधिकारीलाई खवर गरेको रायामाझीले बताए । 

‘सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर माथि ल्याएपछि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर र मसहितले उहाँलाई मिलाएर राख्यौं,’ रायामाझीले थपे, ‘हामीले उहाँलाई भिआइपीमै राख्न खोजेका थियौं । तर भिआइपीमा एउटामात्र सिट मिलाउन सकियो, उहाँहरु तीन जना हुनुहुन्थ्यो । उहाँले साथीहरुलाई छोडेर आफूमात्र भिआइपीमा नबस्ने, बरु तलै भए पनि खुसीसाथ बस्ने भनेपछि हामीले उहाँको व्यवस्था गर्यौं ।’

एन्फाका अर्का एक पदाधिकारीका अनुसार भिआइपीमा एन्फाका पदाधिकारीहरुले ठाउँ छोड्न आनाकानी गरेपछि अध्यक्ष शेर्पा आफैले शाहका लागि ठाउँ छोडेका थिए । 

‘उहाँले खवर नगरी आउनुभएकाले त्यस्तो भएको हो । अर्को पटकदेखि आउँदा हामीलाई खवर गर्नुस, हामी पूरा व्यवस्था मिलाउँछौं भनेका छौं,’ रायामाझीले भने, ‘उहाँले आइतबारको खेल पनि हेर्न आउछु भन्नुभएको छ ।’

खेल सकिएपछि एन्फाका पदाधिकारीहरुले पूर्व नवयुवराज शाहसँग तस्बिर खिचाएका थिए ।