रेनुका नगरकोटी

साफ गुमाउनु पर्दा असह्य पीडा भएको छः रेनुका

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिम अहिले घरेलु मैदानमा करिब एक महिनापछि सुरु हुने साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । सदाबहार प्रतिद्वन्द्वी तथा उपाधि यात्राको  बाधक भारतलाई पराजित गर्दै कीर्तिमानी सफलता हात पार्न नेपाली टिम मरिमेटेर लागेको छ ।

तर, प्रतियोगिताको मिति नजिकिँदै जाँदा नेपाली टिमसामू कप्तान रेणुका नगरकोटीको चोट भने नयाँ चुनौती बनेर उभिएको छ । अभ्यासका क्रममा क्ल्यारिकल बोन (ब्युटि बोन) मा चोट लागेसँगै कप्तान रेणुकाले भदौ २१ गतेदेखि दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ ।

घरेलु मैदानमा हुने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता गुमाउनु पर्दा असह्य पीडा भएको रेणुका सुनाउँछिन् ।

‘घरमै हुने प्रतियोगिता नै खेल्न पाउँदिन होला भन्ने सोचेकै थिइँन,’ भावुक हुँदै रेणुका भन्छिन्, ‘तयारी राम्रो हुँदै थियो, यसरी–यसरी तयारी गर्ने यो यो गर्ने भन्ने योजना सबै बनिसकेका थिए । एसियन गेम्सका लागि भनेर हामी अगाडि देखि नै तयारीमा थियौं । तर, मैले खेल्न नपाउने भएँ ।’

अभ्यासका दौरान घाइते भएकै दिन रेणुकालाई चोटले भन्दा प्रतियोगिता गुम्ने चिन्ताले बढी पिरोलेको थियो ।

‘घाइते भएको दिन चोटको भन्दा प्रतियोगिता गुम्ने चिन्ताले आफूलाई सम्हाल्न गाह्रो भएको थियो,’ उनी भन्छिन्, ‘असह्य पीडा भयो । बिस्तारै आफ्नो मनलाई सम्झाएँ । खेल्न पाएको भए।।। भन्ने अझै पनि लाग्छ ।’

एसियाली खेलकुदको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली टोली प्रशिक्षणमा थियो । असार २१ गते प्रशिक्षणका क्रममा लड्दा उनको घाँटीमुनिको बायाँ क्ल्यारिकल बोन भाँचिएको थियो । उनलाई ग्वार्कोस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । त्यसयता रेनुका निरन्तर आराममा छिन् ।

भदौ २१ गतेदेखि असोज तीन गतेसम्म राजधानीमा हुने साफ च्याम्पियनसिपको छैटौं संस्करणका लागि महिला टिमले एन्फा मैदानमा प्रशिक्षण गरिरहेको छ । रेनुका पनि फिजियोथेरापी गराउनको लागि एन्फा पुग्छिन् । तर, आफू बाहिर बसेर बाँकी टिमलाई प्रशिक्षण गरेको देख्दा उनको मन चस्किन्छ ।

रेनुका भन्छिन्, ‘हातको प्लास्टर र घाउँको टाँकाहरु खोलिसकेको छ । बिहान फिजियो थेरापी गराउनका लागि एन्फा गइरहेको हुन्छु । त्यहाँ टे«निङ गरेको देख्दा यस्तो नभएको भए म पनि त्यहाँ हुन्थें भनेर कल्पना गर्छु । धेरै नरमाइलो हुने रहेछ ।’

साफ च्याम्पियनसिपको पहिलो संस्करणबाटै नेपालको प्रतिनिधित्व गर्दै आएकी रेनुकाले पहिलो पटक प्रतियोगिता गुमाउने भएकी हुन् । रेनुकाले १५ वर्षको उमेरमा बंगलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलबाट डेब्यु गरेकी थिइन् ।

चोटबाट बिस्तारै ‘रिकभर’ भइरहेकी रेनुकाले अझै दुई महिना मैदान बाहिरै रहनु पर्ने बताइन् । ‘बिस्तारै सुधार हुँदैछ । दुई महिना अझै आराम गर्नुपर्छ । अहिले फिजियो थेरापी गरिरहेको छु । एक हप्तापछि डाक्टरलाई भेट्न गएपछि एक्स–रे गर्नुपर्छ, बाँकी त्यसपछि थाहा हुन्छ,’ रेनुकाले भनिन् ।  

भदौ २१ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । हालसम्म खेलेका पाँचमध्ये चार संस्करणको फाइनलमा पुग्न नेपाल टिम सफल भएको छ । यद्यपि, चारै पटक फाइनलमा भारत बाधक बन्दा नेपाल उपाधि जित्नबाट वञ्चित छ । भारतको सिलगुरीमा भएको चौथो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएर बाहिरिएको थियो ।

करिब एक महिनापछि नेपाली टिम रंगशालामा उत्रिँदा प्रमुख लक्ष्य भारतलाई पराजित गर्नु हुनेछ ।