फ्रेन्च लिग वान

पिएसजीको सहज जित

पेरिस । स्ट्राइकर लियोनल मेसीको दुई गोलप्रेरित पेरिस सेन्ट जर्मन (पिएसजी)ले क्लेमोन्टलाई ५-० ले पराजित गर्दै फ्रेन्च लिग वानमा सानदर सुरुआत गरेको छ ।

लिगको पहिला खेलमा स्ट्राइक किलियन एम्बाप्पे भने टोलीमा थिएनन् । नेइमार, आर्साफ हाकिमी र मार्कुन्होसको गोलमा सहज जिततर्फ अघि बढेको पिएसजीले  मेसीको थप दुई गोलमा फराकिलो जित निकालेको हो ।

पिएसजीले गत साता ट्रफी डेस च्याम्पियन्समा नान्टेसमाथि जित निकालेको थियो । प्रशिक्षक क्रिस्टोफ ग्याल्टियरको प्रशिक्षणमा पिएसजीको यो लगातार दोस्रो जित हो ।

रियाल मड्रिड जाने हल्लाका बीच क्लबसँग थप तीन वर्षको सम्झौता गरेको एमबाप्पे चोटकै कारण पछिल्लो केही खेलमा टोलीबाहिर बस्न बाध्य छन् ।

गत सिजन रेलिगेशनको संकट टारेको क्लेमोन्टले पिएसजीविरुद्ध सम्झनलायक प्रदर्शन गर्न सकेन । क्लेमोन्टले एक पटक मात्र पिएसजीको पोस्टमा आक्रमण गरेको थियो ।