फिर्मिन्हो

लिभरपुलमै बस्न चाहन्छन् फिर्मिन्हो

लन्डन । लिभरपुलका फरवार्ड रोबर्टो फिर्मिन्होले यो ट्रान्सफर विन्डोमा क्लब छाड्ने कुनै मनसाय नभएको संकेत गरेका छन् । आगामी अक्टोबरमा ३१ वर्ष पुग्ने ब्राजिलियन फरवार्ड फिर्मिन्होले लिभरपुल छाड्ने विभिन्न चर्चा चलिरहेको छ ।

लिभरपुलसँगको सम्झौताको अन्तिम वर्ष मात्रै बाँकी रहँदा फिर्मिन्होले सीमित खेलमा मात्रै पहिलो रोजाईमा मौका पाइरहेका छन् । गत सिजन चोटका कारण सीमित खेलमा मात्रै मैदानमा उत्रिएका फिर्मिन्होले यसपाली डार्बिन नुनेजसँग पनि टिम भित्रै प्रतिस्पर्धा गर्नुपर्ने छ ।

फिर्मिन्होमाथि इटालियन क्लब युभेन्टसले चासो देखाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सन् २०१५ मा होफेनहेमबाट २९ मिलियन पाउन्डमा लिभरपुल आएका फिर्मिन्हो टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए ।

‘म यो टिम, सहर र समर्थकहरुलाई माया गर्छु, म लिभरपुलमा छु, र यहीँ बस्न चाहन्छु,’ उनले टिएनटी ब्राजिलसँग भने ।

सिजन २०१७÷१८ मा सबैखाले प्रतियोगितामा २७ गोल गरेका फिर्मिन्होको त्यो उत्कृष्ट लय थियो ।