एन्फा

व्यन्जनकारले गरे पाँडे बर्खास्तगीको माग, कार्यसमितिका १९ मध्ये १३ जना पाँडेको विरुद्धमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) को अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नविन पाँडेको बर्खास्तगी माग गर्दै कार्यसमिती सदस्य रमेश व्यञ्जनकारले शुक्रबार निवेदन बुझाएका छन् ।

व्यञ्जनकारले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सम्बोधन गरिएको पत्र बुझाएसँगै जर्मन नागरिक पाँडेको बर्खास्तगी माग गर्ने एन्फाको १९ सदस्यीय कार्यसमितिमा १३ जना पुगेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र दुई उपाध्यक्ष विराटजंग शाही र दीपक खतिवडासहित १२ जनाले पाँडेको नियुक्ती विधानसम्मत नभएको भन्दै बर्खास्तगीको माग गरेका थिए । पाँडेको बर्खास्तगी माग गर्ने सदस्यहरुमा महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, पुरुशोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, सरिना श्रेष्ठ, भरत बुढ थापा र टीकाराम लामा थिए ।

असार ६ गते कर्माछिरिङ शेर्पालाई हराउँदै अध्यक्षमा निर्वाचित भएर आएको कार्यसमितीको पहिलो बैठकले महासचिवमा किरण राई, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाँडे र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

प्रक्रिया पूरा नगरि नियुक्त गरिएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । गत बिहीबारका लागि तय बैठक एजेन्डामा प्रवेश नै नगरि स्थगित भएको थियो । एन्फा कार्यसमिती बैठकका लागि पाँडेको बर्खास्तगी नै प्रमुख एजेन्डा बनेको छ ।

तत्कालिन अध्यक्ष शेर्पा समूहका उपाध्यक्ष दीर्घबहादुर केसी तथा सदस्यहरु मनिश जोशी, मणिराज विष्ट र पेमा डोल्मा शेर्पाले भने अहिले सम्म पाँडेको बर्खास्गतीको माग गरेका छैनन । पाँडेको बर्खास्तगीको विपक्षमा अध्यक्ष नेम्वाङको पक्षमा उपाध्यक्ष दावा लामा मात्र देखिएका छन् ।

एन्फा कार्यसमितीका २१ मध्ये १९ सदस्य निर्वाचित भएका छन् । अन्य दुई सदस्यका लागि भने विशेष साधरणसभामा निर्वाचन हुनेछ । असार ६ गतेको निर्वाचनमा सदस्य पदका चार उम्मेदवारको बराबर मत भएका कारण पुनः साधारणसभाबाट ती चार मध्ये दुईलाई चुन्नुपर्नेछ ।